चीन बाहिर महामारी बन्दै कोरोना : इरानका पुर्वराजदुतको मृत्यु

चीन बाहिर महामारी बन्दै कोरोना : इरानका पुर्वराजदुतको मृत्यु

काठमाडौँ,१६ फागुन।

चीनपछि कोरोना भाइरसको महामारी युरोप र एशियाका केहि देशमा देखिएको छ । जसमा चीनपछि सबैभन्दा धेरै इरान कोरोनाको चपेटामा आएको छ ।

इरानमा अहिलेसम्म कोरोनाबाट २६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक उच्च कुटनीतिज्ञ समेत परेका छन् ।

इरानका स्थानीय मिडियाका अनुसार भटिकनका लागि इरानका पुर्व राजदुत रहेका हादी खोसरोशाहीको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । इरानमा कोरोनाको इपिसेन्टर मानिएको राज्य कोममा उनको मृत्यु भएको बताइएको छ ।

कोरोनाको संक्रमणमा एक उपस्वास्थ्यमन्त्री र उपराष्ट्रपति समेत कोरोनाको संक्रमणमा परेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि इरानमा शुक्रबार गरिने सबै प्राथना सभाहरु स्थगित गरिएको बताइएको छ । सरकारले सबै खाले भेला नगर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

त्यस्तै इटालीमा मृत्यु हुनेको संख्या अहिलेसम्म १७ पुगेको छ । त्यस्तै दक्षिण कोरियामा १२ जनाको मृत्यु भएको पछिल्लो अपडेटमा उल्लेख गरिएको छ ।

चीनमा भने मृत्यु हुनेको संख्या घट्दै गएको पाइएको छ । विहिबार चीनमा थप ४४ जनाको मात्र मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या अहिलेसम्म २७ सय ८८ पुगेको छ । त्यस्तै कोरोना संक्रमितको संख्या भने ७८ हजार ८२४ पुगेको छ ।

अहिलेसम्म ३६ हजार ११७ जना अस्पतालबाट डिस्चार्ज भएको चिनियाँ स्वास्थ्य अधिकारिहरुले पछिल्लो अपडेटमा जानकारी गराएका छन् ।