किसान भन्छन् – सहुलियतमा जग्गा चाहियो

किसान भन्छन् – सहुलियतमा जग्गा चाहियो

फागुन १६ गते । चितवन केरा उत्पादक किसानहरुले केराखेतीका लागि सहुलियतमा जग्गा उपलव्ध गराउनु पर्ने माग गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनले केरा जोन कार्यक्रमसंगको सहकार्यमा शुक्रवार आयोजना गरेको आगामी वर्षको योजना तर्जुमा गोष्ठीमा किसानहरुले सहुलियत भाडादरमा जग्गा उपलव्ध गराउनु पर्ने वताएका हुन् । केराखेतीका लागि जग्गा अभाव हुदै गएको,खेती भईरहेको जग्गाको पनि भाडादर वढेको भन्दै राज्यले केरालाई आत्मनिर्भर वनाउन सहुलियतमा जग्गा उपलव्ध गराउन किसानले सुझाव दिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सीनाले वताए । तिमल्सीनाका अनुसार सहुलियतको जग्गासंगै रासायनिक र प्रांगारिक मलमा विषेश अनुदानको व्यवस्था गर्नु पर्ने,मालभोग जातको केराको वैकल्पिक व्यवस्था गर्नु पर्ने,रोग र किरा व्यवस्थापनका लागि अनुसन्धान गरिनु पर्ने,केरा खेतीका लागि विज्ञको व्यवस्था गर्दै आगामी कार्यक्रम ल्याउन सुझाव दिएका छन् । चितवनलाई केरा उत्पादनको अग्रणी जिल्लाको रुपमा चिनिन्छ । जिल्लाको भरतपुर महानगरपालिकाको वडा नम्वर १,रत्ननगर र खैरहनीको सवै वडा,कालिका नगरपालिकाको वडा नम्वर १ देखी ८ सम्म केराजोन कार्यक्रम लागू भएको छ । केरा जोन कार्यक्रम चितवनका संयोजक खेमराज दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले केरामा आत्मनिर्भर हुन नसकेको भन्दै उत्पादन वढाउनु पर्ने र यसमा राज्यले किसानलाई अनुदानको व्यवस्था गर्नु पर्ने धारणा राखे ।