कोरोना संक्रमित युवाको बयान- चिकित्सक पनि हेर्न आएका छैनन् , तातो पानी पनि खान दिएका छैनन्

कोरोना संक्रमित युवाको बयान-  चिकित्सक पनि हेर्न आएका छैनन् , तातो पानी पनि खान दिएका छैनन्

कैलाली, १५ चैत ।

उपत्यका बाहिर पहिलो कोरोना संक्रमित युवाले आफूलाई अस्पतालमा राम्रो व्यवहार नगरेको गुनासो गरेका छन् ।

नेपालमा चौथो संक्रमित व्यक्तिको रुपमा शुक्रबार उनको कोरोना पोजेटिभ भएको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको थियो । कोरोना संक्रमण पुष्टि नहुन्जेल आइसोलेसनमा राखिए पनि शुक्रबारबाट शवगृह नजिकै सारिएको र तातो पानी पनि पिउन नदिएको उनले बताएका छन् ।

‘शुक्रबार ममा कोरोना भाइरस भएको पुष्टि भएपछि अहिले मलाई अस्पतालको शवगृह छेउमै रहेको कक्षमा एक्लै राखिएको छ। मेरो स्वास्थ्य अवस्था सामान्य नै छ,’ उनले भने, ‘मलाई अलग्गै राखेदेखि अहिलेसम्म चेकजाँच गर्न भने कोही आएका छैनन् । अहिलेसम्म न त औषधि दिएका छन्, न त तातोपानीकै व्यवस्था गरेको छ। म चिसो पानी खाएर बसेको छु ।’

युवकको बयान सुन्दा उनलाई कोरोना पुष्टि भएपछि चिकित्सकहरु समेत भेट्न नगएको र स्वास्थ्यकर्मीहरु डराएको अनुमान गर्न सकिन्छ ।

उनी दुबईबाट फर्किएका युवक हुन् । चैत ७ गते दिल्ली हुँदै दुबईबाट नेपाल आएका ती युवा श्रीमतीको सुझावमा अस्पताल गएको जानकारी दिएका छन् ।