चीनको वुहान सहर खुल्यो

एजेन्सी,१५ चैत्र ।

अहिले विश्वका लागि कहर बनेको कोरोना भाइरस सबैभन्दा पहिले देखिएको चिनियाँ सहर वुहान अब विस्तारै खुल्न थालेको छ । गत वर्ष डिसेम्बरमा पहिलो पटक कोरोना भाइरस वुहानमा देखिएको थियो । त्यस लगत्तै यो सहरलाई जनवरी देखि आइसोलेसनमा राख्ने सरकारले निर्णय गरेको थियो ।

अहिले पनि अन्य चिनियाँ वा अरु मानिसलाई वुहानमा छिर्न दिइएको छैन । तर, वुहानबाट मानिसहरुलाई अब बाहिर निस्किन दिइएको छ ।

त्यहाँका सन्चारमाध्यमले अब रेल स्टेसनका तस्वीरहरु प्रकाशन गर्न थालेका छन् जहाँ मानिसहरुको ठूलो भीडभाड देख्न सकिन्छ ।

कतिपय ठाउँमा पसलहरु र मार्टहरु खुलेका छन् र त्यहाँ पनि मानिसहरुको भीडभाड देख्न सकिन्छ । १ करोडभन्दा धेरै मानिस बस्ने यो ठाउँमा कोरोनाका कारण ३२३९ जनाको निधन भएको थियो । ५० हजारभन्दा धेरै यो ठाउँका मानिसमा कोरोना भाइरस संक्रमण देखिएको थियो ।