भिडियोको गलत व्याख्या भयो , गल्ती गरेको भए कारबाही भोग्न तयार छौं :कर्मचारीहरु

भिडियोको गलत व्याख्या भयो , गल्ती गरेको भए कारबाही भोग्न तयार छौं :कर्मचारीहरु

चितवन , १६ बैशाख।
भरतपुर कोरोना बिशेष अस्पतालभित्रको सिसिटिभी भिडियोको गलत व्याख्या गरिएको आरोपितहरुले बताएका छन् । अस्पतालभित्र स्टोर व्यवस्थापन गर्ने क्रममा सामान ओसारपोसार गरेको दृश्यलाई केहि संचारमाध्यमले अपव्याख्या गर्दै सामान चोरीको आरोप लगाएर आफूहरुको चरित्रहत्या गरेको उनीहरुले बताए ।

आज एक विज्ञप्ती जारी गर्दै भिडियो देखिएका आरोपितहरु फणिन्द्र प्रसाद खनाल , संजय बराल र सूर्य तिवारीले आफूहरु दिनरात नभनि कारोना भाइरसको महामारीको बेला समेत काममा खटेर नियमित काम गर्दा चोरी गरेको भन्दै संचारमाध्यम तथा सामाजिक संजालमा अर्नगल प्रचार गरिएकोमा आपत्ती जनाएका छन् । आफूहरुले कुनै गलत काम गरेको भए कारबाही भोग्न तयार रहेको भन्दै त्यस्तो सुनियोजित रुपमा गलत प्रचार गर्नेहरुमाथी छानविन र कारबाहीको माग गरेका छन् ।

भरतपुर कोरोना नियन्त्रण कार्यदल र कोरोना बिशेष अस्पतालको स्टोर छुट्याउने क्रममा सामान सार्ने क्रमको भिडियोको अप व्याख्या भएको संजय बरालले बताए । कोरोना बिशेष अस्पतालमा कार्यरत हुदाँ आफूहरु घर नगई क्वारेनटाइनमा बसेको र सोको बेला चप्पल , साबुन , मास्क , सेनिटाइचरहरु अस्पतालकै प्रयोग गरेको तर कुनैपनि सामानको हिनामिना नगरेको उनले दावी गरे ।

भरतपुर कोरोना नियन्त्रण कार्यदलले समेत एक विज्ञप्ती जारी गर्दै स्टोर फरक फरक बनाएर व्यवस्थापन गर्दाको बेलाको सिसिटिभी फुटेज भएको जनाएको छ । कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीद्धारा जारी विज्ञप्तीमा कोरोना नियन्त्रण कार्यदलले खरिद गरेको र विभिन्न संघ संस्थाबाट सहयोग प्राप्त सबै सामाग्रीको दाखिला , प्रमाण , बिल विवरण साथै बाँकी बक्यौता सामाग्रीको लगत सहिसलामत राखिएको जनाइएको छ ।

यस्तै नेपाल निजामती कर्मचारी संगठन चितवनले समेत विज्ञप्ती जारी गर्दै भ्रामक भिडियो र समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।