अफगानिस्तानका मोहम्मद साहजादले चितवन टाइगर्सबाट ईपीएल खेल्ने

अफगानिस्तानका मोहम्मद साहजादले चितवन टाइगर्सबाट ईपीएल खेल्ने

चितवन ,१५ माघ ।

अफगानिस्तानका विस्फोटक ओपनिङ ब्याट्सम्यान एवं विकेट किपर मोहम्मद साहजादले एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले चितवन टाइगर्सबाट ईपीएल खेल्ने पक्का भएको हो ।

चितवन टाइगर्सले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै साहजादलाई क्लबमा भित्र्याउन पाउँदा गौरव महसुस भएको बताएको छ । साहजादले अबुधावी टी–ट्वान्टी, बंगलादेश प्रिमियर लिग, अफगान प्रिमियर लिगमा खेलेका छन् ।

साहजाद एकै दिनमा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा दुई अर्धशतक प्रहार गरेको युनिक कीर्तिमानी खेलाडी पनि हुन् । ३३ वर्षे साहजादले अफगानिस्तानबाट २ टेस्ट, ८४ वानडे इन्टरनेसनल र ६५ ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

फर्स्ट क्लास क्रिकेटमा उनको ब्याटिङ औसत ५० भन्दा माथि छ । उनले सबै फर्म्याटमा गरी १३ हजारभन्दा बढी रन बनाएका छन् । विश्व क्रिकेट लिग डिभिजन ५ मा रहेको अफगानिस्तानलाई वानडे अन्तर्राष्ट्रिय र टेस्ट मान्यता दिलाउन साहजादको ठूलो भूमिका थियो ।