डेनिस पत्रिकाले चिनियाँ झण्डामै कोरोना भाइरस संक्रमण गरेपछि

डेनिस पत्रिकाले चिनियाँ झण्डामै कोरोना भाइरस संक्रमण गरेपछि

एजेन्सी, १५ माघ

एक डेनिस पत्रिकामा छापिएको चिनियाँ झण्डाबारे यति बेला विश्वभर चर्चा भइरहेको छ ।

डेनमार्कको दैनिक पत्रिका जाइल्यान्स पोस्टेनमा छापिएको उक्त चिनियाँ झण्डामा पाँचवटा ताराको स्थानमा कोरोना भाइरस देखाइएको छ । कोरोना भाइरसले संकट निम्त्याएको बेला आफ्नो झण्डालाई तोडमोड गर्ने कार्यलाई ‘असंवेदनशील र रुखो’ भन्दै चीनले आपत्ति जनाइसकेको छ ।

डेनमार्कस्थित चिनियाँ दूताबासले तोडमोड गरेर झण्डा छापेकोमा समाचार पत्रिका जाइल्यान्स पोस्टेन र कार्टुन बनाउने डेनिस आर्टिस्ट निल्स बो बोगेसेनले क्षमायाचना माग्नुपर्ने बताएको छ । दूताबासले एक विज्ञप्ति जारी गर्दै चिनियाँ नागरिकसँग पत्रिकाले क्षमायाचना माग्नुपर्ने बताएको हो ।

‘कुनै सहानुभूति र समानुभूतिबिना नै पत्रिकाले सभ्य समाजको आधारभूत सीमा तथा वाक स्वतन्त्रताको नैतिक सीमा दुबै नाघेको छ र मानवीय विवेकको खिल्ली उडाएको छ’, दूताबासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

झण्डालाई तोडमोड गर्ने कार्यले ‘चीनको अपमान भएको’ र ‘चिनियाँ नागरिकको भावनामाथि चोट पुर्‍याएको’ दुताबासले बताएको छ । तर पत्रिकाले भने क्षमा नमाग्ने बताएको छ ।

जाइल्यान्स पोस्टेनका प्रधान सम्पादक ज्याकोब नाइब्रोइले चीनमा हाल देखिएको महामारीलाई आफ्नो पत्रिकाको खिल्ली उडाउने मनसाय नभएको प्रस्ट पारेका छन् ।

‘गलत होइन भन्ने लागेको कुराप्रति हामीले क्षमा माग्दैनौं’, नाइब्रोइले भने, ‘चीनको अवस्थालाई अबमूल्यन गर्ने वा खिल्ली उडाउने हाम्रो कुनै मनसाय छैन र पत्रिकाले छापेको झण्डाले त्यस्तो गर्छ भन्ने लाग्दैन ।’

त्यस्तै डेनमार्कका विभिन्न राजनीतिज्ञले समेत चीनले पत्रिकामाथि दबाब दिन नहुने बताएका छन् ।

जाइल्याण्ड पोस्टेनले सोमबार चिनियाँ झण्डामा कोरोना भाइरस देखाइएको झण्डा राख्दै समाचार छापेको थियो ।

जाइल्यान्स पोस्टेनले यसअघि सन् २००५ मा इस्लामका पैगम्बर मोहम्मदको चित्र छापेको थियो । पैगम्बर मोहम्मदलाई व्यङ्ग्य गरिएको भन्दै मुस्लिम विश्वमा उक्त कार्टुनको व्यापक आलोचना भएको थियो ।