विद्यालय संचालन स्वास्थ्य मापदण्ड, नगरपालिकाद्वारा अनुगमन तीब्र

चितवन,१४ मंसिर ।

विद्यालयमा पठनपाठन सुचारु भए पछि चितवनको खैरहनी नगरपालिकाले स्वास्थ्य मापदण्डको अनुगमन तीब्र पारेको छ । खैरहनिमा यहि मंसिर ३ गते देखि सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन सुरु भएको थियो । पठनपाठन नियमित नभए पनि शिकाइ सहजीकरण केन्द्रको रुपमा लिइएको छ । कोभिड १९ को सन्दर्भमा संघीय सरकारले विद्यालय संचालन सम्बन्धि कार्यढाँचा जारी गरेपछी स्थानीय सरकारको रुपमा रहेको खैरहनी नगरपालिकाले विद्यार्थी सिकाइ सहजीकरण क्रियाकलाप सम्बन्धि कार्यबिधी बनाएको थियो । सोही कार्यबिधि अनुसार विद्यालय संचालन भए/नभएको अनुगमनको काम भइरहेको खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए ।

कार्यबिधिमा विद्यालयको भुमिका,वडा कार्यालयको भुमिका र नगरपालिकाको भुमिका स्पष्ट उल्लेख गरिएको छ । अनुगमनका क्रममा आफ्नो भुमिका अनुसार केही विद्यालय संचालन नभएको पाइएकाले कार्यबिधी अनुसार संचालन गर्न पहिलो चरणमा निर्देशन गरिएको स्थानीय शिक्षा अधिकारी बानियाँले बताए । विद्यालय खुलेसंगै कोभिड १९ को जोखिम हुन नदिन प्रत्येक दिनजसो अनुगमन गरिएको उनले बताए । खैरहनिमा सामुदायिक र संस्थागत विद्यालयको संख्या ४९ रहेको छ । अनुगमनका लागि तीन वटा समूह बनाईएको छ । खैरहनी नगरपालिका मेयर लालमणी चौधरीले सामुदायिक विद्यालयमा स्वास्थ्य मापदण्ड पूरा गराउनका लागि नगरपालिकाले आर्थिक सहयोग समेत गरेको बताए । संभावित कोरोना भाइरसको जोखिम हुन नदिन स्वास्थ्य सामाग्री खरिदका लागि प्रत्येक विद्यालयलाइ २० हजार रुपैयाँ प्रदान गरिएको मेयर चौधरीले जानकारी दिए । साथै माध्यमिक विद्यालयलाइ २/२ वटा र आधारभुत विद्यालयलाइ १/१ वटा थर्मल गन समेत दिइएको छ ।

के छन त विद्यालयले पालना गर्नु पर्ने सुरक्षाका उपायहरु
१. विद्यालय नियमित रुपमा सरसफाइ गर्ने,आवश्यक परे सेनिटाइज गर्ने
२. थर्मलगनको ब्यबस्था गरि नियमित ज्वरो नाप्नु पर्ने
३. विद्यालय वा सिकाइ केन्द्रमा प्रवेश गर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्नु पर्ने
४. साबुनपानीको ब्यबस्था गरि हात धुने र धुन लगाउने
५. एक बेन्चमा बढीमा २ जना विद्यार्थी राखी निर्धारित दुरि कायम गर्ने र एउटा कोठामा बढीमा २० जना सम्म विद्यार्थी हुने गरि बसाइ ब्यबस्थापन मिलाउने
६. कम्पाउण्ड भित्र वा बाहिर भिडभाड हुन नदिने
७. क्यान्टिन नखोल्ने ,खाजा खानै पर्ने भए घरबाटै ल्याउने गरि ब्यबस्थापन मिलाउने
८. प्रार्थना नगराउने ,अतिरिक्त क्रियाकलापको कुनै कार्यक्रम संचालन नगर्ने,टिफिन र मिनि टिफिन नगर्ने
९. विद्यालय बाहिर चना चटपट बेच्न नदिने,जंग्कफुड प्रयोग गर्न नदिने
१०. साना बालबालिकालाई अभिभावकले ल्याउने लैजाने ब्यबस्था मिलाउने
११. विद्यार्थी आवतजावत गर्न वसको प्रयोग गर्नु पर्ने भएमा वसमा रहेको सिट क्षमताको पचास प्रतिशत मात्र विद्यार्थी राख्ने र बस भित्र कोभिड १९ को सुरक्षात्मक उपाय सबै अवलम्बन गर्नु पर्ने, साथै विद्यार्थी ओसारपसार गरिसके पछि वसलाइ निर्मलिकरण गर्ने
१२. पिसिआरको नतिजा पोजेटिभ आएका शिक्षक ,विद्यार्थी ,अभिभावक वा सरोकारवाला जो कोहिलाइ पनि नेगेटिभ नतिजा प्राप्त नहुदा सम्म विद्यालय प्रवेश नगर्ने नगराउने
१३. माथी उल्लेखित सुरक्षाका विकल्प बाहेक अन्य विकल्प भए सो समेत प्रयोग गर्ने ।