भरतपुर विमानस्थल छेउका अग्ला घर भत्काउनुपर्छ : पर्यटनमन्त्री भट्टराई

चितवन,१४ मंसिर ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थल छेउका अग्ला घरहरु भत्काउनुपर्ने बताएका छन् । विमानस्थल छेउमा बनाइएका मापदण्ड विपरितका र अग्ला घरहरुका कारण विमानस्थल जोखिममा रहेको उनले बताएका हुन् ।
भरतपुर महानगरपालिकामा आइतबार आयोजित छलफल कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भट्टराईले सुविधा सम्पन्न विमानस्थल चाहिए अग्ला घरहरु भत्काउनुपर्ने बताएका हुन् । हालको नेपाली सेनाको ब्यारेकलाई स्थानान्तरण गरी सो ठाउँमा आपतकालिन एयर बेसक्याम्प निर्माण गरिने उनले बताए । यसले विमानस्थलको गुरुयोजनामा कुनै असर नपार्ने उनको भनाइ छ ।
विमानस्थल विस्तारका लागि जनदबाब आइरहेको भन्दै उनले अब आइपर्ने समस्यालाई महानगरले व्यवस्थापन गर्दै जानुपर्ने बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरले भरतपुर विमानस्थललाई रात्रिकालिन उडान सहितको व्यवस्थित र सुविधा सम्पन्न विमानस्थलको रुपमा विस्तार गर्न चाहेको बताइन् । सेनाको कालीबहादुर गण र घोडा प्रजनन केन्द्रलाई सेनासँगकै समन्वयमा उचित स्थानमा व्यवस्थापन गर्ने सहमति भइसकेको उनले बताइन् ।