तेस्रो गैँडाकोट महोत्सव नारायणी किनारमा सुरु

तेस्रो गैँडाकोट महोत्सव नारायणी किनारमा सुरु

चितवन, १५ माघ 

 तेस्रो गैँडाकोट महोत्सव–२०७६ पूर्वीनवलपुरको गैँडाकोटस्थित नारायणी नदीको किनारमा सुरु भएको छ ।

आज महोत्सवको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री एवम् नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा शशांक कोइराला गरेका हुन् ।महोत्सवको उद्घाटन पूर्वगैँडाकोट नगरपालिकामा जम्मा भएर  सहितको शोभायात्रा महोत्सव स्थल नारायणी नदी किनारसम्म निकालिएको थियो । हात्ती, घोडा, बग्गीसहित विभिन्न ३०० बढी संघसंस्थाहरु शोभायात्रामा सहभागी थिए । शोभायात्रामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको तेस्रो गैँडाकोट महोत्सवका सचिवालय संयोजक एवम् उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले जानकारी दिए ।

महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले महोत्सवले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । विदेशी वस्तुलाई प्रतिस्थापन गर्ने गरी मेला महोत्सवहरु हुनुपर्ने भन्दै कोइरालाले मेला महोत्सवले पैसा कमाउने भन्दा पनि आर्थिक समृद्धिको आधार बन्नुपर्ने बताए । महोत्सवस्थलमा कृषिका ४० वटा स्टल, विभिन्न जाजातिका नौ वटा सांस्कृतिक घरसहित उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटनसम्बन्धी ३५० भन्दा बढी स्टल रहेको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए ।

 

स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रवद्र्धनका लागि महोत्सव गर्न लागिएको उल्लेख गर्दै भट्टचनले नेपाल भ्रमण वर्ष–२०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले पनि थप ऊर्जा प्रदान गर्ने बताए । नवलपुरलाई औद्योगिक हबको रुपमा विकास गर्न गण्डकी प्रदेशबाट २० करोड रुपैयाँ प्राप्त भएको उल्लेख गर्दै भट्टचनले लोकाहा खोला नजिक ५०० बिघा जग्गा व्यवस्थापन गरिने बताए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति हुने जनाउँदै रसियन कलाकारहरुबाट दैनिक बेली डान्सलगायतका कार्यक्रम हुने कँडेलको भनाइ छ । यसपटक महोत्सवमा बुर्ज अल अरब दुबई (सेल्फी जोन) र लण्डन ब्रीज आकारको कलात्मक प्रवेशद्वार निर्माण गरिएको छ । महोत्सवका आर्थिक तथा प्रचारप्रसार उपसमिति संयोजक एवम् संघका कोषाध्यक्ष शालिकराम सापकोटाले महोत्सव सफल पार्न विभिन्न २२ वटा उपसमिति गठनगरि काम अघि बढाइएको बताए ।

महोत्सवअवधिभर महोत्सव स्थलमा भायो नेट कम्युनिकेशन प्रालिले २०० एमबीपीएसको इन्टरनेट निःशुल्क प्रदान गरेको सापकोटाले जानकारी दिए । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै सापकोटाले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिने बताए । गैँडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आन्तरिक तथा वाह्य व्यापार, उद्योग, कृषि, पर्यटन, सूचना सञ्चारलगायतका क्षेत्रलाई प्रर्वद्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्य लिएर तेस्रो गैँडाकोट महोत्सव आयोजना गरिएको हो ।