‘विद्यार्थीलाई सिकाई सहजीकरण गरे मात्रै असार देखि भदौसम्मको शुल्क लिनु’

‘विद्यार्थीलाई सिकाई सहजीकरण गरे मात्रै असार देखि भदौसम्मको शुल्क लिनु’

चितवन, १४ पुष ।
यस शैक्षिक सत्रको असार देखि भदौसम्म विद्यार्थीलाई सिकाई सहजिकरण गरेका संस्थागत विद्यालयले मात्रै विद्यार्थीसँग शुल्क लिन भरतपुर महानगरपालिकाले निर्देशन दिएको छ । सिकाई सहजिकरण बापत सहभागि विद्यार्थीसँग मात्रै साविक मासिक शुल्क सिमाभित्र शिक्षक–अभिभावक संघबाट निर्णय भएका शुल्क लिन महानगरले संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको हो ।

असोजदेखि विद्यालयले साविकमा लिँदै आएको मासिक शिक्षण शुल्कको सिमाभित्र शिक्षक–अभिभावक संघबाट निर्णय भए बमोजिमको शुल्क लिन महानगरले भनेको छ । त्यस्तै, शैक्षिक सत्रको बैशाख र जेठको मासिक शुल्क नलिन महानगरले आग्रह गरेको छ । विद्यालयमा पूर्ववत् रुपमा पठनपाठन शुरु नहुँदा सम्म बार्षिक शुल्कमा पर्ने खेलकुर, अतिरिक्त क्रियाकलाप, प्रयोगशाला, मर्मत सम्भार, पुस्तकालय, प्राथमिक स्वास्थ्य शुल्क, कम्प्युटर शुल्क, आवास शुल्क, परिवहन शुल्क र भोजन शुल्क लगायत विद्यार्थीले उपभोग नगरेका सेवा सुविधाको शुल्क विद्यालयले लिन पाउने छैनन् ।

विद्यालय नियमित रुपमा सञ्चालन भएपछि मात्रै सो अवधिको दामासाहीका हिसाबले शुल्क लिने पाउने महानगरका नगर शिक्षा अधिकारी सिताराम कोइरालाले बताए ।  विविध शुल्कका नाममा पनि कुनै शुल्क लिन नपाउने महानगरले जनाएको छ । विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीहरुसँग मासिक शिक्षक शुल्कको आधा महिना बराबरको भर्ना रकम मात्रै लिन महानगरले संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको छ । विद्यालयहरुले मासिक शिक्षण शुल्कको ५ प्रतिशत नबढ्ने गरी परिक्षा शुल्क र मासिक शिक्षण शुल्कमा १० प्रतिशत नबढ्ने गरी प्रमाणपत्र शुल्क लिन पाउने छन् ।