मोरङमा शनिबार बिहान दुर्घटना, तीन जनाको मृत्यु

मोरङमा शनिबार बिहान दुर्घटना, तीन जनाको मृत्यु

विराटनगर,१७ फागुन ।

मोरङमा शनिबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–२ जय चौकस्थित पूर्व–पश्चिम राजमार्गमा रोकेर राखेको गोरु लोड गरिएको ट्रकमा अर्को ट्रक पछाडिबाट ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

बिहान ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८०९१ नम्बरको ट्रकले सडकमा रोकेर राखेको गोरु लोड गरिएको ना ८ ख ६७ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा ठक्कर दिने ट्रकका चालक चितवन भरतपुर नगरपालिका–११ का २८ वर्षीय अजय अधिकारी र सहचालक भरतपुर–१ कै ३० वर्षीय अंकित घर्तीमगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए।

उनका अनुसार चालक अधिकारीको घटनास्थलमै र सहचालक घर्तीमगरको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा बिहान ९ बजे मृत्यु भएको हो । ठक्कर दिने ट्रक नवलपरासीबाट सात सय ५० काटुन गोर्खा स्ट्रङ वियर लिएर झापाको दमकतर्फ गएको खुलेको छ । डीएसपी गिरीले ठक्कर दिने ट्रक तीव्र गतिमा रहेको र नियन्त्रण गुमाएर दुर्घटना भएको जानकारी दिए । लामो रुटमा एक जना मात्रै चालकले कुदाएको र चालकको निद्रा नपुगेका कारण अगाडि रहेको अर्को ट्रक ठम्याउन नसक्दा पनि ठोक्किएको हुन सक्ने उनको भनाइ छ ।

रोकेर राखेको ट्रकमा भने जीवित र मृत गरेर २८ वटा गोरु भेटिएका छन् । जसमा चारवटा मरेका र २४ वटा जीवितै थिए । ‘वियर लोड गरेको ट्रकले अर्कोलाई ठक्कर दिँदा भएको दुर्घटनामै गोरु मरेका हुन सक्छन्,’ गिरीले भने, ‘२४ वटा जीवितै भेटिएका पनि सबै घाइते अवस्थामा छन् ।’ दुर्घटनामै परेर गोरुहरु घाइते भएको र सबै जसोको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।

गोरु सर्लाहीको लालबन्दीस्थित पशु हाटबजारबाट खरिद गरेर ल्याइएको खुलेको प्रहरीको भनाइ छ । ‘प्रारम्भिक अनुसन्धानबाट प्रक्रिया पूरा गरेरै झापाको घैलाडुब्बातर्फ गोरु लिएर गएको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘तर तस्करी गरेर भारततर्फ कटाउने योजना बनाएर पनि ल्याइएको हुन सक्छ ।’ यस विषयमा गम्भीर रुपमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

डीएसपी गिरीले सर्लाहीबाट निरजकुमार सिंहले चौपाय खरिद बिक्री केन्द्रबाट पठाएका गोरु झापा दमकका जीवन कार्कीले ल्याएको खुलेको जानकारी दिए । ‘प्रारम्भिक अनुसन्धानबाट सर्लाहीको लालबन्दीदेखि झापाको घैला डुब्बासम्मको रुट तय गर्दै सबै प्रक्रिया पूरा गरेर गोरु ल्याएको देखिन्छ,’ उनले भने, ‘सबै कुरा बुझ्ने काम भइरहेको छ ।’

पाँच हजारका दरले एक लाख ४० हजार रुपैयाँमा सबै गोरु खरिद गरेको बिल पनि साथमै रहेको उनको भनाइ छ । ‘भेटेरिनरी प्रमाणपत्र, क्वारेन्टाइन पास गरेको कागज, गोरु किनेको पान र भ्याट बिल लगायत पशु बजारले दिएका सबै बिलहरु चालकको साथमै भेटिएको छ,’ गिरीले भने, ‘सबै कागजपत्र हेर्दा प्रक्रिया पूरा गरेर नै गोरु ढुवानी गरेको देखिन्छ ।’ उनले मृत र जीवित सबै गोरु दमकका कार्कीकै जिम्मा लगाएर पठाइसकिएको जानकारी दिए ।

गोरु लोड गरिएको ट्रक र त्यसका चालक सर्लाहीको हरिवन नगरपालिका–७ का ३७ वर्षीय हिरणराज वम्जनलाई नियन्त्रणमा लिएर घटनाका बारेमा बाँकी अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । चालक वम्जनले ट्रक रोकर आफू पिसाव गर्न गएका बेला अर्को ट्रकले पछाडिबाट आएर ठक्कर दिएको प्रहरीलाई बताएका छन् ।

त्यस्तै विराटनगर महानगरपालिका– १ बुद्धचौकमा शनिबार बिहान ७ बजे उत्तरतर्फ जाँदै गरेको को २८ प ६८४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु ४० वर्षीया रमा पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

दुर्घटनामा झापा गौरीगञ्ज घर भइ विराटनगरमा डेरा बस्दै आएका मोटरसाइकल चालक चालक १९ वर्षीय विकाश कर्ण पनि गम्भीर घाइते भएका छन् । डीएसपी राईले कर्णको चिन्ताजनक अवस्थामा नर्सिङ होममै उपचार भइरहेको जानकारी दिए ।