आमाबुबाको हत्यापछि भेटिएकी ७ महीने शिशुको स्वास्थ्य अवस्था जटिल

आमाबुबाको हत्यापछि भेटिएकी ७ महीने शिशुको स्वास्थ्य अवस्था जटिल

कैलाली,१७ फागुन।

कञ्चनपुरमा १५ फागुन दिउँसो आमाबुबाको हत्या हुँदा जीवितै भेटिएकी सात महीने शिशुको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

हत्यापछि शिशुलाई मावलीको जिम्मा लगाइएको थियो।

शिशुको स्वास्थ्य अवस्था गयरातिदेखि गम्भीर भएपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ।

आमाबुबाको हत्यापछि बिचल्लीमा परेकी शिशुको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने अस्पतालका अध्यक्ष धीरेन्द्र साउँदले बताए।

अस्पतालका बालरोग विशेषज्ञ डाक्टर मोहन साउँदले बच्चाको टाउकोमा गम्भीर चोट लागेको बताए। बच्चाको हालत अत्यन्तै नाजुक रहेको बताउँदै उनले अस्पतालले उपचारमा विशेष ध्यान दिइरहेको बताए।

उनका अनुसार बच्चामा निमोनियाको समेत संक्रमण देखिएको छ। बच्चाको अझै होस् आइनसकेकाले अहिले नै केही पनि भन्न नसकिने अस्पताल स्रोतले जनाएको छ।

कञ्चनपुरका जयलाल भण्डारी र उनकी श्रीमती धानादेवी भण्डारी दिउँसो आफ्नै घरमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका थिए।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए। उनले केही व्यक्तिलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको बताए।