भैरहवामा कोरोना परीक्षणका लागि प्रदेश प्रयोगशाला बन्दै

भैरहवामा कोरोना परीक्षणका लागि प्रदेश प्रयोगशाला बन्दै

बुटवल ,१६ चैत

कोरोना भाइस (कोभिड–१९) परीक्षण प्रयोगशाला स्थापनाको प्रदेश ५ सरकारले अन्तिम तयारी गरेको छ। रुपन्देहीको भैरहवास्थित वीउविजन कार्यालय भवनमा प्रदेशस्तरको कोभिड–१९ परीक्षण प्रयोगशाला निर्माणको तयारी भएको हो।

कोरोना नियन्त्रणमा जुटेको प्रदेश सरकारका लागि कोरोना भाइरस परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्दा असहजता देखिएको छ। गत चैत १० गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेशमा छुट्टै प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रभित्र रहेको वीउविजनको कार्यालयमा प्रयोगशाला स्थापना गर्ने तयारी भइरहेको प्रदेश प्रयोगशालाका निर्देशक डा। राजेन्द्र गिरीले जानकारी दिए। उनका अनुसार एक चरणमा भवन हेरेर उपयुक्त भएको भनेर त्यही अनुसार भवनलाई प्रयोगशालाका रुपमा तयार पार्ने काम भइरहेको छ।

प्रयोगशालाका लागि पूर्वाधार लगभग तयारी अवस्थामा रहेको र उपकरण आउनासाथ परीक्षण गर्न सकिने तयारीमा जुटेको निर्देशक गिरीले बताए। यसभन्दा अघि बायोसेफ्टी लेभलको चेकजाँच गर्ने प्रयोगशाला नभएकाले यसको परीक्षणका लागि खटिने जनशक्तिसमेत तयार पार्ने काममा लागेको उनको भनाइ छ। प्रयोगशाला निर्देशनालय भर्खर स्थापना भएको र हाल ३ जना ल्याब टेक्निसियन आफूहरुसँग रहे पनि अन्य कर्मचारीको व्यवस्थापनको प्रक्रिया मन्त्रालयस्तरबाट हुने निर्देशक गिरीले जनाए। प्रदेश प्रयोगशालामा पिसिआर वा कोभिड प्रोटेबल ९कोभिड परीक्षण गर्ने मेशिन० मध्ये जुन उपलब्ध हुन्छ, त्यहीबाट परीक्षण शुरु गर्ने सरकारको तयारी छ। सामग्री आउनासाथ प्रदेशमा कोरोनाको परीक्षण सुचारु गर्न सकिने सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश प्रयोगशालाले नेपालगञ्ज र दाङमा कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन र यसको परीक्षण कसरी गर्ने भन्नेबारेमा समेत तालिम सञ्चालन गरेको जनाएको छ।

संघीय सरकारले चीनबाट कोरोना भाइरस सम्बन्धी किट, प्रयोशालाका मेसिन, पिपिई सहित अत्यावश्यक १९ प्रकारका स्वास्थ्य उपकरण ल्याएको छ। त्यसमा कोभिड–१९ परीक्षण गर्ने मेसिनसमेत आएकाले छिट्टै प्रदेश ५ को प्रयोगशाला सुचारु हुने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। नेपालगञ्ज र दाङमा पनि कोरोना भाइरसको परीक्षणको व्यवस्था गर्नुपर्ने माग उठ्दै आएको छ।