प्रदेश २ को सरकारले लकडाउनले समस्यामा परेकालाई खाना खुवाउने

प्रदेश २ को सरकारले लकडाउनले समस्यामा परेकालाई खाना खुवाउने

जनकपुरधाम ,१६ चैत

कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले देशभर गरेको लकडाउनका कारण समस्यामा परेका गरिब विपन्न तथा मजदुरलाई खानाको व्यवस्था मिलाउने प्रदेश २ सरकारले निर्णय गरेको छ।

लकडाउनकै कारण गरिब तथा दैनिक ज्यालादारीमा खटनेहरू भोकभाकै मर्ने अवस्था सिर्जना भएको गुनासो बढेपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो। आज ९आइतबार० बिहान बसेको प्रदेश २ सरकारको मन्त्रिपरिषद् बैठकले गरिब, विपन्न तथा मजदुरलाई निःशुल्क खाना खुवाउने प्रबन्ध मिलाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।

खानाको व्यवस्थापन मिलाउन स्थानीय तहसँग समन्वय गर्ने सरकारका प्रवक्तासमेत रहेका मन्त्री यादवले बताए। उनका अनुसार खानाको व्यवस्था मिलाउन तत्काल वीरगन्ज महानगरलाई २५ लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय भएको छ। यस्तै सिमरा र जनकपुरधाम उपमहानगरलाई २०र२० लाख रुपैयाँ, प्रदेशभित्रका नगरपालिकाहरूलाई १५ लाख र गाँउपालिकालाई १० लाख रुपैयाँका दरले रकम पठाइनेछ।

‘गरिब, विपन्न तथा मजदुरहरूलाई खानाको व्यवस्था गर्न प्रदेश सरकारले जति रकम पठाउनेछ। त्यति रकम सम्बन्धित स्थानीय तहलेसमेत थपोस् भनेर प्रमुखहरूसँग आग्रह गर्ने निर्णय पनि भएको छ,’ मन्त्री यादवले भने। तत्कालै खाना खुवाउन सुरू गरिहाल्न स्थानीय तहसँग आग्रह गरिने उनको भनाइ छ।

निःशुल्क खाना खुवाउने कार्यका लागि प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय संस्था सम्मिलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइएको छ।

यस्तै कोरोना भाइरस सङ्क्रमितको उपचारमा खटिने चिकित्सकहरूको जीवन बिमाका साथै शतप्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।