चितवनकी कोरोना संक्रमित महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ

चितवनकी कोरोना संक्रमित महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ

चितवन,१७ वैशाख ।

चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । महिलाको मंगलबार सांँझ गरिएको तेस्रो परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

उनीसँगै संकलन गरी पठाइएका २२ वटा नमुनाको नतिजा भने नेगेटिभ आएको छ । किटको अभावका कारण स्वाब नमुना परीक्षणका लागि सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु नमुना पठाइएको थियो । उनको गत बिहीबार दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको थियो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उनीसँगै संक्रमित देखिएका २७ वर्षीय छोराको भने दोस्रो र तेस्रो रिपोर्ट लगातार नेगेटिभ आएपछि शनिबार नै डिस्चार्ज गरिएको पौडेलले बताए । महिलाको वैशाख ३ गते गरिएको आरडीटी टेस्टमा शंकास्पद देखिएपछि सोहि दिनदेखि आमा, छोरालाई नै भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

चैत ३ गते बेलायतबाट नेपाल आएकी वर्ष ६३ की महिला र उनको २७ वर्षको छोरामा वैशाख ५ गते स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । उनीहरु गत महिना लण्डन हङकङ हुँदै नेपाल आएका थिए ।