कोरोनाका कारण फ्रेण्ड्स क्लबका पूर्वफरवार्ड महेश पन्थीको निधन

कोरोनाका कारण फ्रेण्ड्स क्लबका पूर्वफरवार्ड महेश पन्थीको निधन

काठमाडौं,१७ वैशाख।

कोरोना भाईरस (कोभिड-१९) का कारणका फ्रेण्ड्स क्लबका पूर्वखेलाडी महेश पन्थीको मंगलबार बिहान उपचारका क्रममा निधन भएको छ।

उनी लामो समयदेखि अमेरिकाको भर्जिनियास्थित सेन्टरभिलामा बस्दै आएका थिए। ललितपुरस्थित कुपन्डोलको फ्रेण्ड्स क्लबले मंगलबार फेसबुकमार्फत पन्थीको निधनमा दुस्ख व्यक्त गरेको छ।

‘‘दुखद् समाचार। हामीले महान खेलाडीले र भलाद्‍मी व्यक्तिलाई गुमाएका छौं। सदैव क्लबप्रति समर्पित खेलाडीको निधनले हामीलाई गहिरो चोट पुर्‍याएको छ,’’ शहीद स्मारक ‘ए’ डिभिजन लिगको फ्रेण्ड्स क्लबले लेखेको छ, ‘‘उहाँप्रति गहिरो समवेदना प्रकट गर्दछौं। उहाँको परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् तथा उहाँको आत्माले चिरशान्ति पाओस्।’’

खेलाडी जीवनबाट संन्यासपछि महेश क्लब व्यवस्थापनमा पनि लागेका थिए। उनी क्लबका उपाध्यक्ष पनि भए। फ्रेण्ड्स क्लबका अध्यक्ष राजीव पौडेल पनि महेशको निधनमा समवेदना प्रकट गरेका छन्।

‘‘उनको निधनको खबरले निकै दुस्खी बनाएको छ। उनको नेतृत्व र उत्प्रेरणामा क्लबले सधैं प्रगति गरेको थियो। क्लबले सदैव उहाँलाई सम्झिरहने छ। उहाँको योगदान र लगावका कारण क्लब अहिले यो अवस्थामा रहन सफल भएको छ। उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं,’’ क्लबका अध्यक्ष पौडेलले फेसबुकमा खेलेका छन्।

महेशको परिवारमा आमा, श्रीमती, एक छोरा र एक छोरी छन्। महेशका दाइ सुरेश पन्थी पनि खेलाडी थिए। सुरेशको पनि निधन भइसकेको छ। ३० देखि ४० को दशकसम्म फुटबल खेलेका महेशले राष्ट्रिय टीममा भने स्थान बनाउन सकेनन्। उनी ‘राइट आउट फरवार्ड’मा खेल्थे।

‘‘राम्रो खेलाडी हुन्। एक व्यक्तिका रूपमा पनि निकै भलाद्‍मी थिए। फ्रेण्ड्स क्लबबाट लामो समय फुटबल खेले। त्यतिबेला कम्युनिटी बेस फुटबल हुने भएका कारण फ्रेण्ड्स क्लबबाहेक अन्य टिमबाट मलाई खेलेको थाहा छैन,’’ फुटबल विज्ञ सञ्‍जीव मिश्रले भने, ‘‘विश्वव्यापी रूपमा फैलिएको महामारीबाट उनी जोगिन सकेनन्। यसले नेपाली फुटबल जगतलाई स्तब्ध बनाएको छ।’’