महोत्तरीमा विशाक्त मदिरा सेवनले चार जनाको मृत्यु

महोत्तरीमा विशाक्त मदिरा सेवनले चार जनाको मृत्यु

महोत्तरी,१७ वैशाख ।

महोत्तरीको भंगहा नगरपालिका ७ मा विशाक्त मदिराले चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ५५ वर्षीय लालबाबु सिंह, ४० वर्षीय नथुनी महरा, ५५ वर्षीय मोहन चौधरी र ४५ वर्षीय महेन्द्र चौधरी छन् । उनीहरु सबै मजदुरी गरेर जीवन चलादै आएका थिए ।
वडाध्यक्ष बासुदेव सिंहका अनुसार महरा र सिंहको आज विहान मृत्यु भएको छ । मोहनको मंगलबार र महेन्द्रको एकसाता अगाडि मृत्यु भएको थियो । मृतक चारै जनामध्ये कसैको पनि पोष्टमार्टम गराउन उनीहरुको परिवारले मानेन ।

‘मृतक चारै जना अत्यधिक मात्रामा मदिरा सेवन गर्थे,’ वडाध्यक्ष सिंहले भने, ‘मृतक महरा मदिरा सेवनगरी मंगलबार साँझसम्म गाउँमा होहल्ला गरेका थिए ।’

वडाध्यक्ष सिंहले विशाक्त मदिरा सेवन गरेपछि मृत्यु भएको भनेर प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीको टोली मृतकको घर पुगे । तर स्थानीयले मृतकको शव पोष्टमार्टमका लागि लग्न दिएन ।

स्थानीयले गरेको अवरोधका कारण प्रहरी फर्केपछि मृतक दुबै जनाको दाहसंस्कार गरिएको छ । महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले कालगतिले मृत्यु भएको भनेर शव पोष्टमार्टमका लागि अस्पताल ल्याउन नदिएपछि प्रहरी फर्केको बताए ।

उनले भने, ‘हामीले विशाक्त मदिरा सेवन गर्दा उनीहरुको मृत्यु भएको थाहा पाएँ । तर मृतकका आफ्न्तले शवको पोष्टमार्टम गराउन मानेन ।’ पोष्टमार्टम नभएपछि मृत्युको कारण कसरी भन्ने रु’

वडाध्यक्ष सिंह भन्छन्, ‘मृतकको शवको पोष्टमार्टम गराउन उनीहरुको आफ्न्तले नमानेपछि प्रहरीले हस्तक्षेप गर्नुपथ्र्यो । तर त्यसो गरेन । खै, किन गरेन रु’ उनले प्रहरीको गतिविधिमाथि प्रश्नसमेत तेर्साए ।

उनका अनुसार अवैधरुपमा भइरहेको मदिरा उत्पादनमा प्रहरीको मिलोमतो देखिएको छ । प्रहरीले मदिरा उत्पादन गर्नेहरुसँग महिनावारी असुल्ने गरेको आरोप लगाए । उनले भने, ‘अवैध मदिरा उत्पादन बन्द गर्न दबाब परेपछि मात्र प्रहरीले केही गर्छन् ।’