गैँडा मृत्युबारे समितिले थाल्यो छलफल

रत्नननगर, १५ मङ्सिर ।
चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले छलफल थालेको छ । छलफलका लागि समितिका सभापति पूर्णकुमारी सुवेदी नेतृत्वको सात सदस्यीय टोली निकुञ्जको कार्यालय कसरा आइपुगेको हो । टोलीले गैँडाको संरक्षणमा काम गर्ने सङ्घ संस्था तथा संरक्षणकर्मीसँग अन्तक्र्रिया गर्नेछ ।

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा मात्रै विभिन्न कारणबाट १६ गैँडाको मृत्यु भइसकेको छ । यसमध्ये चार गैँडा चोरी शिकारबाट मरेको निकुञ्जको तथ्याङ्क छ । विश्वमै दुर्लभ मानिने एक सिङ्गे गैँडाको मृत्यु हुने क्रम बढेपछि संरक्षणकर्मी चिन्तित बनेका छन् । वन र वन्यजन्तुको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जले काम गरिरहेका छन् ।

सन् २०१५ मा भएको गैँडा गणना अनुसार निकुञ्जमा ६०५ गैँडा थिए । यो बीचमा १५६ गैँडाको विभिन्न कारणबाट मृत्यु भएको छ । निकुञ्जले केही वर्ष शून्य चोरी शिकार वर्ष मनाए पनि अहिले भने गैँडा मर्ने क्रम रोक्न निकुञ्ज विशेष रणानीतिका साथ अगाडि बढ्ने भएको छ । कालगतिबाट गैँडा मर्ने कुरा सामान्य भए पनि चोरी शिकारबाट गैँडा मर्नुमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता रहेकोआशङ्का गरिएको छ ।

निकुञ्जसँग जोडिएका विपन्न समुदायका लागि निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षणकोष सौराहाले आयमूलक सीपका लागि तालीम दिने काम गरिरहेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्ज गैँडाको मृत्युबारे गम्भीर भएर यसको समस्या पत्ता लगाई समधानमा लाग्ने बताउनुभयो ।

कोरोनाका कारण भएको बन्दाबन्दीले निकुञ्जमा चोरी शिकार बढेको आशङ्का गरिएको भए पनि यसले कुनै प्रभाव नपारेको निकुञ्ज प्रमुख बरालको भनाइ छ । निकुञ्जले गैँडाको चोरी शिकार नियन्त्रणका लागि यस आसपासका बस्तीमा विषेश निगरानी समेत बढाएको छ । रासस