भरतपुरमा स्वास्थ्यमन्त्री ढकालले गरे सरुवा रोग र आकस्मिक भवनको शिलान्यास

भरतपुरमा स्वास्थ्यमन्त्री ढकालले  गरे सरुवा रोग र आकस्मिक भवनको शिलान्यास

चितवन,१५ मंसिर ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भरतपुर अस्पताल परिसरमा सरुवा रोग सेवा भवन र आकस्मिक सेवा भवनको शिलान्यास गरेका छन् । १६ करोड लागतको ५० शैयाको सरुवा रोग सेवा भवन र ९ करोड लागतको ५० शैयाको आकस्मिक सेवा भवनको ढकालले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।

सरुवा रोग सेवा भवन दुई बर्षमा र आकस्मिक सेवा भवन एक बर्षमा निर्माण गरिसक्नुपर्ने छ । दुई तलाको सरुवा रोग सेवा भवन निर्माण गर्न यस बर्ष ८ करोड रुपैयाँ मात्रै स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको हो । बाँकी ८ करोड मन्त्रालयले अर्काे बर्ष विनियोजन गर्ने छ ।

सरकारले आज ७ वटै प्रदेशमा एक÷एक वटा सरुवा रोग सेवा भवनको शिलान्यास गरेको हो । मन्त्री ढकालले आज नै भरतपुर अस्पतालमा बनाइएको १५ शैयाको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) कक्षको उद्घाटन पनि गरेका छन् । २५ शैयाका छुट्टै एचडीयू बनाउन मन्त्रालयले अस्पताललाई बजेट पठाएको छ । टेण्डर गरेर सामान ल्याउन केहि ढिलाई भएको अस्पतालले जनाएको छ ।

एक बर्ष भित्रै दुई वटा भवन निर्माण सम्पन्न गरे भरतपुर अस्पतालाई सम्मान र पुरस्कृत गरिने मन्त्री ढकालले बताए । भवन निर्माणलाई शिलान्यास कार्यक्रममा मात्रै सिमित नराख्न आग्रह गर्दै उनले भवन निर्माण सम्पन्न गर्न बजेट अभाव हुन नदिने बताए । सरकारी अस्पतालहरुमा एक चिकित्सक, एक स्वास्थ्य संस्थाको अवधारणलाई केहि समयमै कार्यान्वयनमा लैजाने उनले बताए । अर्काे प्रसंगमा बोल्दै मन्त्री ढकालले कोरोना नियन्त्रण सम्बन्धि सरकारले गरेका काममा सन्तुष्ट रहेको बताए ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले कोरोना नियन्त्रणमा महानगरले भरतपुर अस्पताललाई सहयोग गर्दै आएको बताइन् । भरतपुर अस्पतालमा पूर्वमेसु कृष्ण प्रसाद पौडेलले अस्पतालमा गुरुयोजना अनुसार काम नभएको, ३१ बिघा जमिनबाट १० बिघामा खुम्चिनुपरेको, बर्खामा अस्पताल डुबानमा पर्ने गरेको लगायतका विभिन्न समस्याहरु बारे मन्त्रीलाई जानकारी गराए ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीको अध्याक्षतामा भएको भवन शिलान्यास कार्यक्रममा प्रतिनिधि सभाका सदस्य एवम् कानुन, न्याय तथा मानव अधिकार समितिका सभापती कृष्णभक्त पोखरेले, स्वास्थ्य मन्त्रालयका निति, योजना तथा अनुगमन महाशाखाका प्रमुख गुणराज लोहनी, बागमती प्रदेशका सांसद विजय सुवेदी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगायतको सहभागिता थियो ।