मकवानपुरमा धमाधम लागुऔषध तस्कर पक्राउ पर्दै , गाँजा र अफिम सहित दुईजना पक्राउ

मकवानपुरमा धमाधम लागुऔषध तस्कर पक्राउ पर्दै , गाँजा र अफिम सहित दुईजना पक्राउ

मकवानपुर , १६ माघ। 
मकवानपुर प्रहरीले चेकजाँचमा कडाई गरेसँगै अवैध गाँजा र अफिम सहित तस्करहरु पक्राउ पर्न थालेका छन् । मंगलबार राती मात्रै दुई राउण्ड गोली प्रहार गरेर ३२ किलो गाँजा सहित ३ जनालाई पक्राउ गरेको प्रहरीले बुधबार बिहान ६३ किलो गाँजा र तिन सय ग्राम अफिम सहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार बिहान हेटौडा उपमहानगरपालिका वडा नं. १९ नेवारपानीबाट ६३ किलो गाँजा र ३०० ग्राम अफिम सहित दुईजनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट प्रहरी नायव निरीक्षक राजेश कुमार यादवको कमाण्डमा खटिएको चेकिङ टोलीले मनहरी तर्फबाट हेटौडा तर्फ आउँदै गरेको बा ३ च ५९९७ नं. को बोलेरो पिकअप गाडीलाई चेकजाँच गर्दा अवैध लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक टिका बहादुर कार्कीले जानकारी दिए ।

गाडीको पछाडीको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको २१ वटा पोकामा लागु औषध गाँजा र लागु औषध अफिम फेला परेको थियो । प्रहरीले गाडीको चालक बारा जिल्ला पर्सौनी गाँउपालिका बडा नं. ६ बस्ने बर्ष २८ को रामजी साह तेली र उक्त गाडीमा सवार बारा जिल्ला अदर्स कोतवाल गाँउपािलका वडा नं. २ बस्ने बर्ष ३० को प्रेम पटेललाई पक्राउ गरेको प्रवक्ता कार्कीले बताए । उनीहरुलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही अगाडी बढाइको प्रहरीले जनाएको छ । गाँजाको कारोबार गर्नेलाई २ वर्ष देखि १० वर्ष सम्म कैद तथा १५ हजार देखि १ लाख रुपैयासम्म जरिवाना तथा सवारी साधन समेत जफत हुने व्यवस्था रहेको र अफिम कारोबार गर्नेलाई १५ वर्ष देखि जन्म कैद तथा ५ लाख देखि २५ लाख रुपैयासम्म जरिवाना तथा सवारी साधन समेत जफत हुने कानुनी व्यवस्था रहेको छ ।