जिम गरेर साउनामा बाफ लिन गएका दम्पत्तिको निसास्सिएर मृत्यु

जिम गरेर साउनामा बाफ लिन गएका दम्पत्तिको  निसास्सिएर मृत्यु

काठमान्डौ,१६ माघ

ललितपुरको सातदोबाटोस्थित एक जिमखानामा साउना लिन गएका एक दम्पतीको निसास्सिएर ज्यान गएको छ । बुधवार राति फिट एण्ड फाइन जिमखानास्थित साउनामा बाफ लिन गएका दम्पतीको निसास्सिएर ज्यान गएको ललितपुर प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा सिंहले जानकारी दिइन् ।

ज्यान गुमाउनेमा ललितपुर १५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारी रहेका छन् ।
राति नुहाउन गएका दम्पती लामो समयसम्म नफर्किएपछि राति नै प्रहरीमा खबर पुगेको थियो ।

एसपी सिंहले भनिन्, ‘राति ९ बजेर १० मिनेट जाँदामा प्रहरीमा खबर आयो, ५–७ मिनेटमै प्रहरीको टोली त्यहाँ पुगेको थियो । त्यसपछि पाटन अस्पतालमा ९ बजेर ३५ मिनेटमा मृत घोषणा गर्‍यो ।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।