नेपालको पहिलो क्यासलेस सहर जनकपुरधाम बन्ने

काठमाडौं,१६ माघ

आइएमई डिजिटल सोलुसन र युकेएड सक्षम एक्सेस–टु–फाइनान्स प्रोग्रामबीच साझेदारीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

जनकपुरमा आयोजित एक विशेष कार्यक्रमकामा ‘आइएमई पे’ का प्रमुख कार्यकारी अधिकृत विकासकुमार नाहाटा र युकेएड सक्षम एक्सेस–टु–फाइनान्स प्रोग्रामका टिम लिडर निर्मल दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि आइएमई डिजिटल सोलुसनले जनस्तरसम्म वित्तीय पहुँच पु¥याउन विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । ती कार्यक्रम जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहने बताइएको छ ।

सोही कार्यक्रममा विश्वका विकसित सहर क्यासलेस भइरहेको अवस्थामा जनकपुरधामलाई पनि क्यासलेस सहरका रूपमा विकास गर्ने अभियानका लागि पैसा कार्डको औपचारिक सुरुवात पनि गरिएको छ । यो अभियानले जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस सहर बनाउने अभियानको थालनी भएको दाबी गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस सहरको रूपमा विकास गर्न प्रदेश सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए ।

यसैगरी आइएमईका प्रमुअ कार्यकारी अधिकृत सुमन पोखरेलले बदलिँदो समयमा क्यासलेस आजको आवश्यकता रहेको बताए । उनले जनकपुरधाम क्षेत्रमा यसका लागि चुनौती रहे पनि ठूलो सम्भावना रहेको बताए । पोखरेलले यसका लागि सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा समेत गरे ।

यसैगरी आइएमई डिजिटल सोलुसनका प्रमुख कार्यकारी अधिकृत नाहाटाले यदि नागरिकलाई डिजिटल वित्तीय प्रणालीमा समाहित गर्न सकियो भने नोट र सिक्का जस्ता भौतिक रुपमा भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्त गर्न सकिने दाबी गरे ।

वित्तीय समावेशीकरणको यो अभियानले मानिसहरूलाई बैंक खातामा परम्परागत फारमबिना नै बैंकिङमा जडान गर्न मद्दत गर्ने बताइएको छ । आईएमई पैसा कार्ड जनकपुरवासीको जनजीवनको अभिन्न अंग बन्ने र यसले जनकपुरलाई क्यासलेस बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।