प्रधानमन्त्री ओलीले घोषणा गरेको समयमा चुनाव नहुने नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वर्षमान पुनको भनाई

रोल्पा, १५ पुस ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको समय आउँदो वैशाखमा चुनाव नहुने बताएका छन् । उनले त्यतिबेलासम्म ओली सरकारको नेतृत्वमा पनि नहुने जिकिर गरेका छन् ।

गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार हुँदा पनि ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको टिप्पणी गरे ।

‘इतिहासको दिशालाई उल्ट्याउन खोज्दा उहाँको राजनीतिक जीवन नै धरापमा परेको छ’, निवर्तमान ऊर्जामन्त्रीसमेत रहेका पुनले भने, ‘अब न वैशाखमा चुनाव हुन्छ, न त उहाँ प्रधानमन्त्री रहिरहनुहुन्छ ।’

ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको भन्दै पुनले त्यस्तो धम्कीबाट आफूहरु नतर्सने बताए । ‘वर्षौंसम्म राजाको सैनिक सत्ता र संकटकाल भोगेका र त्यसलाई परास्त गरेका नेपाली जनता तर्सनेवाला छैनन्’ उनले भने ।

पुनले जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न ओलीले सुझाव दिए । आफैंले मिचेको संविधानलाई पूरानै ट्रयाकमा फर्काउन योगदान गरे ओलीलाई इतिहासले कहीं न कहीं सम्मान गर्ने उनको भनाइ छ । ‘नत्र जनताले बालुवाटारको झ्यालबाट फाल्छन्, समयमै यो कुरा हेक्का राख्दा राम्रो होला’, उनले भने ।

नेता पुनले ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विगत स्मरण गर्न पनि सुझाव दिए । ‘शेरबहादुर देउवाले ०५९ सालमा निर्वाचन घोषणा गर्नुभयो, संसद विघटन गर्नुभयो । संसद दरबारमा बुझाएर आफैं जेल परेपछि गल्ती भयो भनेर आफैं आन्दोलनमा आउने अवस्था बन्यो । राजनीतिक इतिहास बुझ्दा ओलीजीलाई राम्रै होला’ पुनले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिएर मुलुकको अभिभावकत्व गुमाएको पनि उनले टिप्पणी गरे । ‘राष्ट्रपतिले प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई बैधता दिनुभयो’ उनले भने ।

नेता पुनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा नै वैध भएको दाबी गरे ।