मन्त्रिपरिषद् पुनःगठनविरुद्धको रिटमाथिको सुनुवाई स्थगित

काठमाडौँ, १५ पुस ।

संसद् विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनःगठनविरुद्धको रिटमाथिको सुनुवाई स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई हेर्न नभ्याउने भएपछि आजलाई स्थगित भएको हो । उक्त रिटमाथिको सुनुवाइ भोलिलाई तोकिएको रिट निवेदक अधिवक्ता लोकन्द्र ओलीले जानकारी दिए ।

गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकन्द्र ओली र अधिवक्ता केशरजंग केसीले दर्ता गरेको रिटको पेशी आजको लागि तोकिएको थियो ।

प्रधानमन्त्रीले संसद विघटन गरेपछि प्रचण्ड–नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त पदमा प्रधानमन्त्रीले पुस १० मन्त्री थपेका थिए ।प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरिएको छ ।