खैरहनीमा नगर गौरव योजनाको काम तीव्र

पुष १५-

चितवनको खैरहनी नगरपालिकामा विकास निर्माणको काम धमाधम भईरहेको छ । चालु आर्थिक वर्षको असार अगावै सम्पन्न हुने गरि नगर गौरव योजनासहित अन्य योजनाको काम तीव्र रुपमा भईरहेको मेयर लालमणि चौधरीले वताए । कोरोना भाईरसले गत वर्ष केही ठुला योजनाहरु पनि हुन पाएनन् मेयर चौधरीले भने – गत वर्ष र यो वर्षका नगर गौरवका योजनाहरुलाई असार अघिनै सक्ने गरि काम तीव्र पारिएको छ । खैरहनीको नगर गौरव योजनामा परेका तीन वटा पुलको निर्माण कार्य दु्रत गतिमा भईरहेको छ । खैरहनी २ लदरी खोला,खैरहनी ९ चात्रा खोला र खैरहनी ७ र ९ लाई जोड्ने पम्फा खोलामा नगरकै लगानीमा पुल निर्माण भईरहेको मेयर चौधरीले वताए । सिमलटाँडी देखी दक्षिण तर्फ सुल्तनामा २ करोड २४ लाखको लागतमा पुल वन्दैछ । तटवन्धनसहितको पुल निर्माण गर्न लागिएको हो । केविसी विल्डर कम्पनी भरतपुरले ठेक्का सम्झौता गरेर काम गरिरहेको छ ।

खैरहनी २ लदरा खोलामा १ करोड ९५ लाखमा जि.एम.आर कन्स्ट्रक्सन प्रालि भरतपुरले दु्रत गतिमा काम गरिरहेको छ । सो पुलको वटम स्लाव र पिल्लर ढलानको काम भईसकेको नगरपालिका योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठले वताए । त्यस्तै सडक वोर्डको गलत डिजाईनका कारण चात्रा खोलामा निर्माण हुन नसकेको पुल नगरपालिका आफैले वनाउँदै छ । १ करोड ७ लाखमा सम्झौता भएको सो योजनाको अहिले फाउण्डेसनको काम भईरहेको इन्जिनियर श्रेष्ठले वताए । एम.आर एण्ड गु्रप डि.एन.वी जेवी भरतपुरलाई ठेक्का परेको हो । गत वर्ष खैरहनी नगरपालिकाले दुई वटा पुल वनाएको थियो ।

खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाले नगर गौरव र अन्य योजनाका कामहरुको नियमित अनुगमन भईरहेको वताईन् । त्यस्तै शीत भण्डारको काम अन्तिम चरणमा पुगेको छ भने खोलाहरुमा अहिले झण्डै ७ करोड बरावरको तटवन्धन र स्पर निर्माणको काम समेत भईरहेको छ । राप्ती नदिमा स्पर निर्माण काम भईरहेको छ भने लदरा,पम्फा र वुढीराप्ती खोलामा तटवन्धनको काम भईरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले वताए ।