कृषि विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

कृषि विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

चितवन, १५ पुष ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । विश्वविद्यालय नेतृत्वले मनोमानी, अपारदर्शी र अवैधानिक रुपमा पदाधिकारीहरु नियुक्त गरेको भन्दै प्रजातन्त्रवादी प्राध्यापक संघ–नेपाल, केन्द्रिय इकाई समिति रामपुरले जनाएको छ ।
प्राज्ञिक क्षमता, अनुभव र योग्यतालाई बेवास्ता गर्दै विश्वविद्यालयको कार्यकारी परिषदको गणपुरक संख्या विना नै पदाधिकारीहरु नियुक्त गरिएकाले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएको प्रजातन्त्रवादी प्राध्यापक संघ–नेपाल, केन्द्रिय इकाई समिति रामपुरका कार्यबहाक अध्यक्ष डा. जीवन अधिकारीले बताए । पदाधिकारी नियुक्तिप्रति संघले पुष १२ गते नै ध्यानाकर्षण जनाएर गल्ति सच्याउन विश्वविद्यालयलाई आग्रह गरेको थियो ।
‘उपकुपतिज्युले हालसम्म समस्याको निकाशका लागि कुनै पहल नगरि पुर्ण रुपमा उदासिनता प्रकट गर्नुभएको हुनाले आजका मितिबाट उपकुलपतिको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको जानकारी गरिन्छ’, संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।