कोरोना भाइरस महामारीः अमेरिकामा एक हप्ताभित्रै संक्रमतिको संख्या चौगुणाले बढ्यो

कोरोना भाइरस महामारीः अमेरिकामा एक हप्ताभित्रै संक्रमतिको संख्या चौगुणाले बढ्यो

एजेन्सी,१७ चैत

कोरोना भाइरस अर्थात् कोभिड नाइन्टिनको संक्रमणबाट विगत २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ। स्पेनमा ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या ६ जार ८ सय पुगेको छ भने संक्रमितको संख्या ८० हजार नाघेको छ। अमेरिकामा हिजो १८ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। यो सँगै त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ८ सय पुगेको छ। अमेरिकामा हिजो २ सय ५५ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ४ सय पुगेको छ। डाटालाई केलाउने हो भने पछिल्लो सात दिनमा यहाँ संक्रमितको संख्या चौगुणाले बढेको छ ।

संक्रमितको संख्या तिब्र गतिमा बढेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यहाँ सामाजिक दूरीको आदेश आगामी एक महिनाका लागि थप गरेका छन। इटलीमा हिजो ७ सय ५६ जनाको मृत्यु भएको छ। ५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। योसँगै मृत्यु हुनेको संख्या इटलीमा १० हजार ७ सय नाघेको छ। संक्रमितको संख्या ९७ हजार ६ सय पुगेको छ। जर्मनीमा संक्रमितको संख्या ६२ हजार पुगेको छ भने फ्रान्समा ४० हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। विश्वभर कोरोना भाइरसबाट एकै दिन झण्डै ३ हजार मानिसको मृत्यु भएपछि अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३ हजार ९ सय पुगेको छ। त्यस्तै संक्रमितको संख्या ७ लाख नाघेको छ भने उपचारपछि निको हुने मानिसको संख्या १ लाख ५१ हजार पुगेको छ।