भारतमा चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई घरबाट निकालिँदै, अस्पतालमा सुत्न बाध्य

भारतमा चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई घरबाट निकालिँदै, अस्पतालमा सुत्न बाध्य

काठमाडौं,१७ चैत

भारतमा चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई समुदायबाट बहिष्कार गर्दै घरबाट निकालिन थालेको छ । उनीहरूबाट कोरोनाभाइरस सर्ने डरले घरबाट निकालिएपछि उनीहरू अस्पतालमै सुत्न बाध्य भएका छन् ।

देशभरि स्वास्थ्यकर्मीहरूले आफ्ना छिमेकी तथा घरपेटीबाट तिरस्कार सहनुपरेको बताए । उनीहरूलाई ट्याक्सी चढाउन नमान्ने, आफ्नै घरमा पस्न नदिने अनि घरबारविहीन बनाउने काम गरिएको छ ।

एक चिकित्सकले नाम नखुलाउने शर्तमा बताएअनुसार, उनका दुई सहकर्मीलाई घरपेटीले अपमानपूर्वक घरबाट निकालिदिएपछि उनीहरूलाई उनले आफ्नो घरमा सुत्न दिएका छन् ।

‘अस्पतालमा काम गरेकाले तिमीहरूले घरमा संक्रमण ल्याउँछौ अनि अरूलाई पनि फैलाउँछौ भनी घरपेटीहरूले भने,’ उनले बताए, ‘देशका अन्य भागमा रहेका चिकित्सकको पनि यही गुनासो छ ।’

उनले थपे, ‘धेरै चिकित्सकहरूले आगामी केही दिन अस्पतालको शौचालयमा बस्ने निर्णय लिएका छन् किनकि उनीहरूलाई आफ्नै घरमा पस्न दिइएको छैन अनि समुदायका मानिसले पनि शत्रुवत व्यवहार गरिरहेका छन् ।’

प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा भारतीयहरूले भाँडाकुँडा बजाएर चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको प्रयासको सराहना गरे पनि त्यो देखावटी मात्र थियो भन्ने कुरा अहिलेका घटनाक्रमले पुष्टि गरेका छन् ।