दुई लाख अमेरिकीको कोरोनाका कारण मृत्यु हुने चेतावनीपछि ट्रम्पले बढाए सावधानी

दुई लाख अमेरिकीको  कोरोनाका कारण मृत्यु हुने चेतावनीपछि ट्रम्पले बढाए सावधानी

वासिङ्‌टन,१७ चैत्र ।

अमेरिकामा नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ बाट मृत्यु हुनेको संख्या दुई लाख पुग्‍नसक्ने चेतावनी दिइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको कोरोना भाइरस टास्क फोर्सका उच्च अधिकारी डा। एन्थोनी फाउकीले कोरोना भाइरसका कारण दुई लाख अमेरिकीको ज्यान जान सक्ने चेतावनी दिएका हुन् ।

उनले १०औं लाख मानिसलाई कोरोना भाइरसको संक्रमण हुनसक्ने चेतावनीसमेत दिएका थिए । फाउकीको यस्तो चेतावनीपछि राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि अपनाइएका प्रतिबन्धात्मक पूर्वसवाधानीहरु अप्रिल ३० सम्म लम्बिने बताएका छन् ।

सामाजिक दूरीसहितका निषेधात्मक नियमहरु अमेरिकाभर बढाउने बारे तयारी भएको उनले उल्लेख गरेका हुन् । राष्ट्रपति ट्रम्पले आइतबार भनेका छन्, ‘अबको दुई सातामा कोरोना भाइरसका कारण उच्चदरमा मृत्यु हुने सम्भावना छ । त्यसैले हामीले संक्रमण रोकथामका उपायहरु बढाउने तयारी गरेका छौँ ।’

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसमाथि जित हात पार्ने एक मात्र उपाय ‘सामाजिक दूरी’ भएको बताएका हुन् । यसअघि उनले इस्टर अर्थात अप्रिल १२ देखि देशका केही क्षेत्र खुला गर्ने बताएका थिए । अमेरिकामा अहिलेसम्म एक लाख ३९ हजार मानिस कोरोना संक्रमित भएका छन् भने २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वभर हाल सबैभन्दा बढी कोरोना संक्रमित भएको मुलुकमा अमेरिका पर्छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी १० हजारभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको छ । – बीबीसी