सिप्यान अवार्डको पुरस्कार रकम कोरोना राहत कोषमा दिइने

काठमाडौं, १७ चैत ।

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण राहत कोषमा साढे चार लाख रुपैयाँभन्दा बढी रकम सहयोग गरेको छ।

सिप्यानको अयोजनामा हुने तय भएको एनसिसिएस सिप्यान क्रिकेट अवार्ड २०२० मा समावेश विभिन्न पाँच विधाको पुरस्कार राशी नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा प्रदान गरिएको हो। यो वर्षको अवार्ड कोरोना भाइरसको महामारीका कारण हुन नसक्दा सिप्यान तथा प्रायोजक नेशनल कलेज अफ कम्प्युटर स्ट्डिज, नेशनल क्रिएटिभ को एजुकेसनल स्कुल एन्ड एनसिसिएस हाइयर सेकेन्डरी स्कुलले संयुक्त रूपमा अवार्डमा राखिएको पुरस्कार राशी ४ लाख ६२ हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको सिप्यानले जनाएको छ।

सिप्यानका अध्यक्ष मनिषराज पाण्डे तथा महासचिव एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा अवार्डको अर्को संस्करण आगामी वर्ष गरिने जनाइएको छ।

‘कोरोना भाइरसको महामारीले अहिले विश्वमै अत्यन्त जटिल परिस्थिति सिर्जना भएको छ। अत्यन्त तीव्र गतिमा फैलिरहेको यसको संक्रमणको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिइसकेको र हामी नेपाली पनि यसको उच्च जोखिममा रहेको सबैमा विदितै छ। यो महामारीविरुद्ध नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षको अभियानमा हामी सबै मिलेर सहयोग पु¥याउनुपर्ने आवस्यकता छ। यस्तो विषम परिस्थितिमा सिप्यानले सम्पूर्ण क्रिकेट खेलाडीलाई प्रतिनिधित्व गर्दै यो रकम सरकारी कोषमा जम्मा गरेको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अग्रपंक्तिमा रहेर यो संकटको प्रत्यक्ष रूपमा सामना गरिरहनु भएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूसहित सम्बद्ध सबैको योगदानप्रति हामी सम्मान पनि व्यक्त गर्न चाहन्छौँ।’

विज्ञप्तिमा सबै एकजुट भएर छिटोभन्दा छिटो यस असहज परिस्थितिको अन्त्य गरी पुनः सामान्य अवस्थामा फर्कने विश्वास व्यक्त गरिएको छ।