कोरोनासंग लड्न दल,उद्योगी,नगरपालिका एक

कोरोनासंग लड्न दल,उद्योगी,नगरपालिका एक

चैत १७ गते । सरकारले लकडाउनको समयावधि थप गरेपछि त्यसबाट पर्न सक्ने असहजताका विषयमा खैरहनी नगरपालिकाले राजनितिक दल र उद्योग व्यवसायीक संगठनका प्रतिनिधीसंग छलफल गरेको छ । नगरपालिका प्रमुख लाममणी चौधरीको आह्वानमा सोमवार भएको छलफलमा नगरपालिकाले कोरोना भाईरस संक्रमण हुन नदिन गरिरहेको क्रियाकलापबारे जानकारी गराउँदै अवको योजनामा सुझाव लिएको हो । लकडाउनबाट परेको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको नगर प्रमुख चौधरीले वताए । सवैको साझा समस्या हो नगर प्रमुख चौधरीले भने – सवै पक्ष मिलेर कोरोना भाईरसलाई परास्त गर्नुछ । नगर प्रमुख चौधरीले कोरोना भाईरसको सक्रमण हुन नदिन र लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गर्न लागेको तयारीका विषयमा जानकारी गराएका थिए । नेकपा खैरहनी नगर अध्यक्ष लक्ष्मी ढकालले कोरोना भाईरसको सक्रमण हुन नदिन स्थानीय सरकारले गरेको प्रयासको प्रसंसा गर्दै संकटको अवस्थामा नागरीक अनुसासित हुनु पर्ने वताईन् । सरकारले लागू गरेको लकडाउनलाई वेवास्ता गर्दा भोली दुर्घटना हुन सक्ने भएकाले सवै नगरवासी सचेत वन्नु पर्नेमा उनको जोड थियो । नेपाली काग्रेश नगर सभापति शशि खनियाँले लकडाउनका कारण ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेलाई राहत वितरण गर्नु पर्ने र हुने खानेलाई पनि सहज रुपमा वितरण प्रक्रिया अवलम्वन गर्नु पर्ने सुझाव दिए । उनले नगरको १३ वटै वडामा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु पुर्याउने वातावरण वनाउनु पर्ने वताए । छलफलमा उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, चितवन उद्योग संघ खैरहनी इकाई अध्यक्ष प्रतिभा श्रेष्ठ,खैरहनी चेम्वर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ,उद्योग वाणिज्य संघ खैरहनीका महासचिव कुमार खनालले नगरमा पर्ने समस्यालाई समाधान गर्न नगरपालिकासंग सहकार्य गर्न तयार रहेको वताए । इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले आवश्यक भन्दा पनि अत्यावश्यक वस्तुलाई प्राथमिकता दिनु पर्ने वताए । सो अवसरमा प्रहरी निरीक्षक मगरले सुरक्षा अवस्थाका बारे जानकारी समेत गराएका थिए । छलफलमा खैरहनीका उपमेयर सुनिता थपलिया,प्रवक्ता रामशरण पाण्डे,खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनी,प्रशासकीय अधिकृत दामोदर अधिकारीको पनि उपस्थिती थियो ।