विदेशी पर्यटकको उद्दार कार्य स्थगित

विदेशी पर्यटकको उद्दार कार्य स्थगित

काठमाडौं, १७ चैत ।

लकडाउनका कारण अलपत्रमा परेका विदेशी पर्यटक तथा गाइडको उद्दार कार्य तत्कालका लागि सकिएको छ।

विभिन्न स्थानमा रोकिएर अलपत्र परेका १३ सय ३१ विदेशी पर्यटक तथा गाइडको उद्दार गरेपछि तत्कालका लागि उद्दार कार्य स्थगन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका निर्देशक एवं प्रवक्ता लिला बानियाँका अनुसार सबैभन्दा धेरै पर्यटक पोखराबाट उद्दार गरिएको थियो।

उनका अनुसार हवाइ तथा स्थलमार्गबाट एकसाताको अवधिमा ६ सय १३ पर्यटक तथा उनका गाइडहरूलाई उद्दार गरिएको हो। त्यस्तै लुक्ला क्षेत्रबाट ४ सय ३९ जना पर्यटक तथा गाइडको उद्दार गरिएको उनले जनाए।

‘हामीले विभिन्न देशका दूतावास तथा पर्यटकको आग्रहअनुसार उद्दार गरेका थियौँ, तत्कालका लागि हामीसँग कुनै जानकारी आएको छैन’, उनले भने, ‘जुनसुकै स्थानमा रहेका विदेशीलाई तत्कालका लागि सोही स्थानमा सुरक्षित रहन जानकारी गराएका छौँ। अब खासै उद्दारको कार्य हुदैन।’

बोर्डले विभिन्न ११ स्थानबाट पर्यटकको उद्दार गरेको थियो। एकसाता लामो लकडाउनको अवधिमा विभिन्न क्षेत्रका दूतावास, पर्यटक बोर्ड तथा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले समन्वय गरेर उद्दार गरेका थिए।

विभिन्न पर्यटकीय गन्तव्यबाट उद्दार गरिएको विदेशीलाई कतार एयरवेजको तीनवटा चार्डर उडानमा स्वदेश फर्काइएको छ भन्ने अन्य विदेशीलाई समेत स्वदेश फकाईने तयारी भएको बोर्डले जनाएको छ।