कोरोना रोकथामका सामाग्री सोमबार विराटनगर पुर्‍याइयो

कोरोना रोकथामका सामाग्री सोमबार विराटनगर पुर्‍याइयो

विराटनगर,१७ चैत्र ।

नेपाल सरकारले चीनबाट खरिद गरेको एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) विराटनगर पुर्‍याइयो छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सो सामान सोमबार दिउँसो नेपाली सेनाको एनए ०६३ स्काई ट्रकले विराटनगर ल्याएको हो ।

प्रदेश १ का लागि छुट्याइएको एक हजार थान पीपीई विराटनगर ल्याएको र अत्यावश्यक सबै स्थानमा वितरण गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । ‘सेनाले सामान ल्याएको छ, तर, पर्‍याप्त भने छैन,’ मन्त्री घिमिरेले भने, ‘पहिलो चरणमा आएका सामानलाई अत्यावश्यक स्थानको पहिचान गरी वितरण गछौँ ।’

कोरोना भाइरस संक्रमणको आशंकामा जाँच गर्न बढी चाप हुने विराटनगरको कोशी र धरानको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पहिलो प्राथमिकतामा राखेर पीपीई उपलब्ध गराउने मन्त्री घिमिरेले जानकारी दिए । उनका अनुसार बाँकी रहेका पीपीई विराटनगरमा बन्दै गरेको कोरोना अस्पताल र अन्य जिल्लामा पठाइने छ ।

मन्त्री घिमिरेका अनुसार कोशी अस्पताल विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समान १ सय ५० थान, विराटनगरमा बन्दै गरेको अस्पतालमा २ सय र झापाको मेची अस्पतालमा ४६ वाट पीपीई उपलब्ध गराइने छ । आइसोलेसन रहेका अन्य जिल्लामा पनि स्थानीयतहको संख्याको आधारमा प्रदेश सरकारले पीपीईको वितरण गर्दैछ ।

ताप्लेजुङमा १८, पाँचथरमा १६, इलाममा २०, झापामा ३०, तेह्रथुममा १२, संखुवासभामा २०, सोलुखुम्बुमा १६, भोजपुरमा १८, धनकुटामा १४, उदयपुरमा १६, खोटाङमा २०, ओखलढुंगामा १६, सुनसरीमा २४ र मोरङमा ३४ वटा पीपीई पठाइनेछ ।

केन्द्र सरकारले सेनाको जहाजमा सोमबार पीपीई मात्रै पठाएको र थप सेनिटाइजर, मास्क, पञ्जा लगायतका अन्य सामान भने सडकमार्फत ल्याउने तयारी भएको प्रदेश सरकारले जनाएको छ ।