रौतहटमा ८ वर्षीया बालिका बलात्कृत

रौतहटमा ८ वर्षीया बालिका बलात्कृत

रौतहट, १७ चैत ।

कोरोनो भाइरस (कोभिड–१९) को महामारीकोलाई नेपालमा फैलन नदिन नेपाल सरकारले गत मंगलबारदेखि देशैभर लकडाउनको घोषणा गरेको छ ।

लकडाउनको अवस्थामा कोही पनि सर्वसाधारणलाई घर बाहिर ननिस्कन र आफ्नै घरमा बसिरहन सरकारले आग्रह गरेको छ । तर रौतटह जिल्लामा भने यसै लकडाउनको अवधिमा एक बालिका बलात्कृत भएकी छिन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उदेश्यले राज्यले लकडाउन गरेको अवस्थामा जिल्लाको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिकामा एक ८ वषीया बालिका बलात्कृत भएकी हुन् । लकडाउनकको मौका छोपी फतुवा बिजयपुर नगरपालिका वडा ५ फतुवा गाँउका प्रताप पासवानका १८ वर्षीय छोरा नवल पाशवानले आफनो छिमेककी ८ बर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत शनिवार राति घरबाट नजिकैको किराना पसलमा खाने तेल किन्न गईरहेकी बालिकालाई पासवानले समातेर नजीकैको गल्लीमा लगेर बलात्कार गरेका हुन् ।

सो क्रममा पीडित बालिका रोएको सुनेर स्थानीयले पाशवानलाई पक्राउ गरी प्रहरीमा खबर गरेका थिए । खबर लगतै ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरीक्षक चन्द्रकिशोर साहको कमाण्डमा गएको टोलीले आरोपी पाशवानलाई नियन्त्रणमा लिएको थियो ।

घटनाबारे प्रहरी निरीक्षक साहले आज सोमवार सार्वजनिक गर्नु भएको छ । आरोपी नवल पाशवानमाथि बालयौन दुराचार सम्बन्धी मुद्धा दर्ता गरी अदालतबाट आदेश लिएर अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो । पीडित नाबालिका र पीडकको प्राथमिक स्वास्थ केन्द्र चन्द्रपुरमा स्वास्थ परीक्षण पश्चात अभिभावकको जिम्मा लगाइएको साहले बताउनुभयो ।

यसअघि रौतहटमा चैत ७ गते कटहरिया नगरपालिका वडा ७ बगही गाँउमा पनि एक१७ वर्षीया किशोरी पनि बलात्कृत भएकी थिइन् । ती युवतीलाई बलात्कार गरेका आरोपित २८ वर्षीय भाग्यनारायण साह भने हालसम्म फरार रहेका छन् । साहले छिमेकी रहेकी ती किशोरीलाई आफ्नो घरमा केही काम छ भनी आफनो बोलाएर बलात्कार गरेको किशोरीको आरोप छ ।

साहले घरका महिला र अन्य सदस्य खेतमा काम गर्न गएको मौका छोपी साहले दिउसै ढोका थुनेर बलात्कार गरेको र सोको भिडिओ बनाएर घटनाबारे कसैलाई भनेमा भिडिओ सामाजिक सञ्जालमा राखिदिने चेतावनी दिएको पीडितको भनाइ छ । पीडितका बुबाले साहको नाममा इलाकाप्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिएका छन् भने साह फरारनै रहेका छन् ।

फरार रहेका साहको खोजी तीब्र पारिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो ।