बलिउडले दुई दिनमा २ अभिनेता गुमायो ,अमिताभले भने– ऋषिको मृत्युले ‘म टुक्रिएँ’

बलिउडले दुई दिनमा २ अभिनेता गुमायो ,अमिताभले भने– ऋषिको मृत्युले ‘म टुक्रिएँ’

काठमाडौं,१८ वैशाख ।

बलिउडले लगातार दोस्रो दिन एक दिग्गज अभिनेता गुमायो । आफ्नो अभिनयबाट उँचो छवि बनाएका इरफान खानलाई बुधबार (हिजो) गुमाएको बलिउडले दोस्रो दिनै अर्का चर्चित अभिनेता ऋषि कपुरलाई बिदा गर्नुपर्‍यो । लगातार आफ्ना प्रिय अभिनेताहरूलाई बलिउडले गुमाउँदा मुम्बईले ठूलो क्षति बेहोरेको छ ।

ऋषि कपुरको ६७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । बिरामी भएपछि उनलाई मुम्बईको रिलायन्स फाउन्डेसन अस्पतालमा मंगलबार भर्ना गरिएको थियो । क्यान्सरका बिरामी ऋषिलाई पछिल्लो समय श्वासप्रश्वासमा समस्या देखिएपछि भर्ना गरिएको थियो ।

बलिउडमा ‘शो म्यान’ भनेर चिनिने अभिनेता तथा निर्देशक राजकपुरका छोरा हुन् ऋषि । उनी दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए । सन् २०१८ मा ऋषि क्यान्सरको उपचार गर्न न्युयोर्क पुगेका थिए । केही महिना न्युयोर्कमा उपचार गराएर उनी २०१९ मा भारत फर्किएका थिए । न्युयोर्कबाट फर्किएपछि पनि उपचारका लागि अस्पताल धाइरहनुपर्‍यो । दोस्रापटक उनी फ्रेबुअरीमा अस्पताल भर्ना भएका थिए ।

ऋषिले सन् १९७३ बाट चलचित्र यात्रा सुरु गरेका थिए । उनको पहिलो चलचित्र ‘बबी’ हो । यसका साथै उनलाई ‘श्री ४२०’, ‘मेरा नाम जोकर’ मा पनि उनले अभिनय गरेका थिए । उनले अभिनय गरेको चलचित्र ‘मेरा नाम जोकर’ ले नेसनल अवार्ड हात पारेको थियो । यसमा उनी बाल कलाकारका रूपमा थिए भने उनका बुबा राज कपुर मुख्य भूमिकामा थिए ।

सन् १९७३ देखि २००० सम्म उनले खेलेका ३६ चलचित्र बलिउड बक्स अफिसमा हिट भएका थिए । अभिनय करिअरमा उनले ९२ चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । ‘दुई दुनी चार’ बाट उनले ‘फिल्म फेयर क्रिटिक्स फर बेस्ट एक्टर’ अवार्ड हात पारेका थिए ।

उनको मृत्युमा आज विभिन्न व्यक्तिले सामाजिक सञ्जालमार्फतत श्रद्धाञ्जली अर्पण गरेका छन् । लेखक शशि थरुरले ऋषि कपुरको मृत्युमा ट्विटमार्फत शोक व्यक्त गरेका छन् । “च्याम्पियन स्कुलमा मेरो सिनियर रहेका ऋषि कपुर यो संसारबाट जाँदा दुःखी छु । उनको साथ मैले १९६७–०६८ सम्म इन्टर क्लास ड्रामाटिक्स पूरा गरेको थिएँ । बबीको रोमान्टिक नायकदेखि उनका अन्तिम फिल्महरूका परिपक्व अभिनेतासम्मको यात्रा उत्कृष्ट थियो,” उनले ट्विट गरेका छन् ।

ऋषि कपुरका साथी दिग्गज अभिनेता अमिताभ बच्चनले ट्विट गरेका छन्   ‘ऋषि कपुरको पनि निधन भयो। म टुक्रिएँ।’

Image

कांग्रेस नेता राहुल गान्धीले पनि ऋषि कपुरको मृत्युमा शोक व्यक्त गर्दैै ट्विट गरेका छन् । उनले लेखेका छन्, “यो हप्ता भारतीय सिनेमाका लागि धेरै त्रासदीपूर्ण छ । हामीले अर्को सेलिब्रिटी ऋषि कपुर गुमायौं । उहाँ एक उत्कृष्ट अभिनेता हुनुहुन्थ्यो । र हरेक पिँढीका मानिसहरूले उहाँलाई माया गर्थे । उनको अभाव धेरै खड्किनेछ । यस दुखद् घडीमा उनको परिवार, साथीहरू र फ्यानहरूप्रति मेरो संवेदना छ ।”