नारायणगढ बुटवल सडक विस्तारका लागि ६० हजार बढी रुख काट्नु पर्ने !

नारायणगढ बुटवल सडक विस्तारका लागि ६० हजार बढी रुख काट्नु पर्ने !

काठमाडौं, १७ माघ ।

१. बुटवल नारायणगढ सडक विस्तारका लागि ६० हजार बढी रुख काट्नु पर्ने भएपछि विस्तारमा समस्या

नक्सा, योजना र कल्पनामा एक से एक राम्रो बनिरहेका छन् नेपालमा सडकहरु । हरेक ठाउँमा चारदेखि ६ लेनसम्मको सडक विस्तारको योजना धमाधम बनिरहेका छन् ।

यसरी योजना अनुरुप अघि सारिएका कतिपय सडकको विस्तार कार्य पनि आरम्भ भएको छ । तर सडक विस्तारमा बिभिन्न कारणले देखिएको बिलम्ब र अवरोधले सडकले कहिले मुर्तरुप लिने हो यसै भन्न सकिने अवस्था छैन ।

६ लेनको भैरहवा वुटवल सडक खण्डले बर्षौदेखि मुर्तरुप पाउन नसक्दा पुनः बुटवल नारायणगढ सडकको चर्चा पनि सुरु भएको छ । कतै चार लेन, कतै ६ र कतै ३ लेनको बनाउने गरी यो सडक खण्डको विस्तार कार्य आरम्भ भएपनि अझै धेरै समस्याले सडक विस्तारले रफ्तार पाउने सम्भावना देखिएको छैन ।

१६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा बन्ने यो सडकको लम्बाई १ सय १३ किलोमिटरको छ । तर रुख कटान, विद्युतको पोलको समस्याका कारण सडक निर्माण गति पाउने सम्भावना कम देखिएको छ ।

पाँच बर्ष भित्र सम्पन्न गरिसक्नु पर्ने लक्ष्य लिइएको यो सडक विस्तारमा काट्नु पर्ने ६० हजार भन्दा बढी रुखहरु मुख्य व्यवधान बन्ने देखिएको छ ।

२. अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले विकास निर्माणको हरेक काममा उपभोक्तालाई अघि सार्दै

स्थानीय तहको निर्वाचन पछि केही स्थानीय तहहरुले अनुकरणीय उदाहरणहरु पेश गरेर काम गर्दै आएका छन् । धेरै स्थानीय तहहरु कानून र कर्मचारीलगायतका विवादमा अल्मलिदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले विकास निर्माणको हरेक काममा उपभोक्तालाई पहिला अघि सार्दै आएको छ ।

सडकको कारण नै विकासमा पछि परेको निष्कर्ष निकालेको भूमिकास्थान नगरपालिकाले अहिले नगर भित्र सडक निर्माणलाई प्राथमिकतामा राखेको छ ।

सडक निर्माण या स्तरोन्नति गर्दा पनि उपभोक्ता समितिबाट पारित गराएर मात्र काम अघि बढाउने गरेको स्थानीय तहले प्रदेश सरकारसंगको समन्वयलाई पनि प्राथमिकतामा राखेको छ ।

३. कपिलवस्तु जिल्लामा मात्र ५७ प्रतिशत बढी व्यवसायहरु दर्ता नै नगरी गैरकानूनीरुपमा सञ्चालनमा

कुनै पनि उद्योग व्यवसाय सञ्चालन गर्न अघि दर्ता अनिवार्य मानिन्छ । तर कपिलवस्तु जिल्लामा मात्र ५७ प्रतिशत बढी व्यवसायहरु दर्ता नै नगरी गैरकानूनीरुपमा सञ्चालन हुँदै आएका छन् ।

२०७५ सालमा गरिएको आर्थिक गणनालाई आधार मान्दा कपिलवस्तुमा ५७ प्रतिशत ७ दशमलव प्रतिष्ठानहरु गैरकानूनीरुपमा सञ्चालित छन् । धेरैलाई रोजगारी पनि दिएको यस्ता प्रतिष्ठानहरु कानूनत स्वतस्फूर्तरुपमा दर्ता प्रक्रियामा आउनु पर्ने हो तर दर्ता गरेर आधिकारिकता लिनेतर्फ कसैको ध्यान गएको पाइदैन ।

जस्ले गर्दा एकातिर राजश्व संकलनमा असर परिरहेको छ भने अर्कोतर्फ आर्थिक कारोबार पारदर्शी बन्न सकिरहेको छैन । विना दर्ता सञ्चालित प्रतिष्ठानहरुलाई दर्ता प्रक्रियामा ल्याउन सरोकारवाला निकायले पनि तदारुकता देखाउन आवश्यक देखिएको छ भने कानूनको सम्मान गर्न उद्योग प्रतिष्ठानहरुले पनि उत्तिकै आवश्यक छ ।

४. पाल्पाका युवाहरु बट्टाई पालन तर्फ पनि आकर्षित , बजारको समस्या नभएपछि युवाहरु उत्साहित

पाल्पाका युवाहरु बिभिन्न व्यवसायमा दत्तचित्त बनेर लागेका छन् । वैदेशिक रोजगारीबाट फर्किएकाहरुले पनि बिभिन्न कृषिकर्ममा आफुलाई सक्रिय राख्दा आफ्नै माटोको सम्मान गर्नेहरु बर्षौदेखि बिभिन्न आयमुलक कार्यमा संलग्न छन् ।

पाल्पामा देखिएको यो शैलीले समग्र पाल्पाको आर्थिक अवस्था सुधारतर्फ उन्मुख देखाउँदा आत्मनिर्भरतर्फको पाइला पनि बलियो बन्दै गइरहेको छ । पूर्वी पाल्पामा पछिल्लो समय दुई युवाहरुले बट्टाई पालन सुरु गरेर फरक कर्म अंगालेका छन् ।

सुरुमा बजारीकरणमा देखिएको समस्याले केही झञ्झट उत्पन्न गरे पनि अहिले भने उपभोक्तामा बट्टाईको मासुको र अण्डाको गुण थाहा भएदेखि यस्को बजारमा कुनै समस्या देखिएको छैन । – न्युज 24 बाट साभार