प्रदेश १ का मुख्यमन्त्रीले १५ सांसदलाई गरे तीन महिनाको लागि निलम्बन

प्रदेश १ का मुख्यमन्त्रीले १५ सांसदलाई गरे तीन महिनाको लागि निलम्बन

विराटनगर, १६ पुष ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई तीन महिनाको लागि निलम्बन गरेका छन्। आफु विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै मुख्यमन्त्री राईले सांसदहरुलाई निलम्बन गरि कारबाही गरेका हुन् ।
मुख्यमन्त्री राई प्रधानमन्त्री ओली समूह निकटका नेता हुन् ।

मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पष्टिकरण सोधिएकोमा १५ जनालाई निलम्बन गरिएको नेकपाका प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीले बताए । निलम्बनमा पर्नेमा प्रदेश सांसद भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ र कुसुम कुमारी श्रेष्ठ रहेका छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने चार जना सांसद तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र रामकुमार राईले मौखिक जवाफ दिएकोका कारबाही नगरेको उनले जानकारी दिए। आफूविरूद्ध अविश्‍वासको प्रस्ताव ल्याउन सांसदलाई हस्ताक्षर गराएको भन्दै शनिबार साँझ मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वोलाई पदबाट बरखास्त गरेका थिए। त्यसको भोलिपल्ट बिहान दाहाल–नेपाल समूहका तीन मन्त्रीले पदबाट राजीनामा समेत दिएका थिए।

सोही दिन प्रदेशसभा सचिवालयमा ३७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्‍वासको प्रस्ताव दर्ता गराएका थिए।