भारतमा मुस्लिमले उठाए हिन्दुको शव, भने- ‘राम नाम सत्य है’

भारतमा मुस्लिमले उठाए हिन्दुको शव, भने- ‘राम नाम सत्य है’

नयाँ दिल्ली,१८ चैत्र ।

सामाजिक सञ्जालमा अहिले एउटा तस्विर भाइरल छ, जसमा दुई मुसलमान युवकले शव बोक्दै गरेको देखिन्छ ।

त्यो भाइरल तस्विरभित्र पुरै घटना समावेश छ । घटना गएको शनिबारको हो । भारतको उत्तर प्रदेशको बुलंद शहर जिल्लास्थित आनन्द विहारमा एक जनाको मृत्यु भएको थियो ।

अहिले विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी छ । त्यससँग मिल्दाजुल्दा केही लक्षणले ज्यान कसैले गुमाइहालेमा अन्त्येष्टिका लागि सबै डराउने माहोल बनेको छ ।

शवबाट कोरोना भाइरस सर्छ कि सर्दैन भन्ने अहिलेसम्म यकिन भइसकेको छैन। तर धेरै मानिसहरू भने भाइरस सर्ने डरले मृतकको नजिक जान डराउँछन्।

ठिक त्यस्तै भयो रविशंकर नामका ती व्यक्तिको मृत्यु  के कारणले मृत्यु भएको बताइएको छैन तर कोरोना त्रास चलिरहेकाले उनको शव उठाउन कोही आएनन्।

हिन्दु परम्पराअनुसार शवलाई नजिकैको नदी किनार–घाटमा लिएर जलाउनु पर्छ। त्यसका लागि कम्तीमा पनि ४–५ जना मान्छे आवश्यक पर्छन् । उनका छोराले आफन्त, साथीभाइ तथा छिमेकीहरूलाई गुहारे। अँह कोही आएनन् ।

उनका छोराले एक्लै बुवाको शव बोकेर लैजान सकेनन्। छिमेकमा मुस्लिम बस्ती थियो। तर उनीहरूको मृत्यु संस्कार अर्कै हुने भएकाले छोराले आउलान् भन्ने ठानेका थिएनन्।

तर केहीबेरपछि मुस्लिम समुदायका मान्छे रविशंकरको घरमा आइपुगे र अन्तिम संस्कारमा आफूहरूले सहयोग गर्ने बताए ।

शव बाँसमा राखेर बाँधे । शव उठाएपछि उनीहरूले भने– ‘राम नाम सत्य है।’ हिन्दुहरूले शव उठाएर घाटसम्म पुर्‍याउँदा राम नाम जप्ने गर्छन् ।

रविशंकरको मलामी गएका मुस्लिम छिमेकीहरू दाह संस्कार गरेर साँझमात्र छोरासँग घर फर्किए ।