कोरोनाको असर : लकडाउनको वेला भोकै कठारका मुसहर समुदाय

कोरोनाको असर : लकडाउनको वेला भोकै कठारका  मुसहर समुदाय

धु्रवराज खनाल ,

चितवन, १८  चैत  ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको सक्रमण वढ्न नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको प्रत्यक्ष असर खैरहनी कठारका माझी मुसहर समुदायमा परेको छ । लकडाउनले घरमै वस्न वाध्य वनाएका उनीहरुको घरमा चुल्हो नवल्ने अवस्थामा पुगिसक्यो । ज्याला मजदुरी गरेर उनीहरुले विहान वेलुकाको छाक टार्दै आएका छन् । एक साता सम्म जेनतेन छाक टारेका उनीहरुमा खाद्य संकट देखिएको छ । खाद्यान्न नहुँदा चुल्हो नवल्ने स्थितिमा पुगिसकेको स्थानीय एमपी माझीले वताईन् । दिनभर काम गरेरै विहान वेलुकाको छाक टार्नु पर्छ,अहिले काममा जान पाईएको छैन् एमपीले भनिन् – थोरै थोरै भएपनि खाँदै आएका छौ,अव त चामलनै सकिसक्यो । उनी मात्रै होईन् यहाँका सवै महिला पुरुष ज्यालादारीमा जाने गर्छन् । त्यहीबाट उनीहरुको घरमा चुल्हो वल्छ । तर अव चुल्हो नवल्ने स्थिति आएको उनले सुनाईन् ।

रिपोटिङका क्रममा सुतिरहेको अवस्थामा भेटिएका शनिचरा माझी भन्दै थिए काममा जान पाईएको छैन्,खान समस्या भयो । फाट्ट फुट्ट काम हुन्थ्यो त्यो पनि गुम्यो शनिचराले भने – आधा पेटले दिनरात काट्नु परेको छ । उनी सरहका सवै युवाहरु अहिले बेकामे भएका छन् । यो मुसहर समुदायमा २८ घरपरिवार छन् । उनीहरु सवैको हालत उस्तै छ । उनीहरु ऐलानी जग्गामा वस्दै आएका छन् ।

अहिले उनीहरुका लागि संघीय सरकार र खैरहनी नगरपालिकाले आवास निर्माण गरिरहेको छ । मजदुरी गर्न नपाएको वेला माछा र घोंगी टिपेर स्थानीयलाई वेचेर चामल किनी छाक टार्ने गरेका छन् । यो ठाउँमा मुसहरहरु झण्डै ४०,४५ वर्ष अघिदेखी वस्दै छन् । खैरहनी नगरपालिकाले यि यस्तै ज्यालामजदुरी गर्नेहरुको तथ्यांक लिईसकेको छ । संभवत बुधवारदेखी राहत वितरणको काम सुरु हुने खैरहनी नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले वताए । ज्यालामजदुरी गरेर विहान वेलुकाको छाक टार्नेहरुलाई प्राथमिकता दिएर राहत वितरण गर्न लागिएको प्रवक्ता पाण्डेले वताए ।