दिल्लीको निजामुद्दिनको धार्मिकसभाबाट फैलिएको थियो कोरोना,१९ जना नेपाली पनि सहभागी भएको पुष्टी

दिल्लीको निजामुद्दिनको धार्मिकसभाबाट फैलिएको थियो कोरोना,१९ जना नेपाली पनि सहभागी भएको पुष्टी

काठमाडौं,१८ चैत्र।

भारतमा कोरोना भाइरसको संक्रमण (कोभिड-१९) फैलाउन भूमिका खलेको नयाँदिल्लीस्थित मुस्लिम संस्था तबलीगी जमातको हेडक्वाटरमा भएको धार्मिक सभामा १९ जना नेपालीसमेत सहभागी भएको पाइएको छ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार १ देखि १५ मार्चसम्म चलेको उक्त सभामा नेपालसहितका १५ देशका नागरिक सहभागी थिए। नेपालका कुन–कुन ठाउँमा व्यक्ति सहभागी थिए भन्ने केही खुलाइएको छैन।

दिल्ली प्रहरीले निजामुद्दीन क्याम्पसमा पछिल्ला दुई दिनमा खोजी गर्दा २८१ जना विदेशी फेला पारेको छ। यसमा नेपालका १९ जना भेटिएका हुन्। भारतमा उक्त सभामा सहभागी भएकामध्ये केहीको मृत्यु भएको र केहीलाई कोभिड(१९ भेटिएपछि त्यहाँ अन्य देशका नागरिक पनि सहभागी भएको खुलेको हो।

निजामुद्दीनमा रहेको मुस्लिम संस्था तबलीगी जमातमा भारतका १९ राज्यमा मानिसले सहभागिता जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना भाइरसको संक्रमण रोक्न भारत सरकारले देशैभर लकडाउन गर्नु अघि नै त्यहाँ मानिसहरू धार्मिक सभामा सहभागी भएको जनाइएको छ।

भारत र दिल्ली सरकारले नै सभा सम्मेलन गर्न रोक लगाइसकेकै अवस्थामा त्यहाँ धार्मिक सभाको आयोजना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। सभाको आयोजना भएकै क्षेत्र नजिकै रहेका केही मानिसहरुमा कोरोना भाइरसको नमूना परीक्षण गर्दा पोजेटिभ देखिएपछि त्रास फैलिएको छ। उक्त सभामा सहभागी भएका दिल्ली क्षेत्रका २४ जना संक्रमित भएको बताइएको छ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले भने, “तबलीगी जमातको दिल्ली मुख्यालय निजामुद्दीनको मार्काजमा धार्मिक मण्डलीमा उपस्थित भएका कम्तीमा २४ जनामा कोरोनाभाइरस पोजिटिभ देखिएको छ।”

उक्त भेलामा सहभागीका बारेमा निश्चित नभए पनि आशंकामा धेरैलाई क्वारेन्टाइमा पठाइएको उनले बताएका छन्। धार्मिक सभामा सहभागी भएका तेलगंनाका ६ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ।

धार्मिक सभामा सहभागी भएकामध्ये कसैको मृत्यु भएको र कोही संक्रमति भेटिएपछि अहिले दिल्लीसहितका १९ वटै राज्य सरकारले सहभागीहरुको खोजी गर्न थालेको छ। आजै विभिन्न राज्यहरुमा प्रहरीले छापा हानेर मानिसहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको जनाएको छ।