कोरोना कहर : होम आइसोलेसनमा बस्दा यी कुराहरुमा ख्याल गर्नुहोस्
– डा. रवीन्द्र पाण्डे
१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोस् ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो । १०० पुग्यो भने पारासिटामोल खानुहोस् , शरीर दुखेमा/ टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।
२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोस् , यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोस् यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोस् यसले फोक्सोको क्षमता बढाउछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।
३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोस् आवश्यकता अनुसार पारासिटामोल, कफ सिरप/ट्याब्लेट खान सकिन्छ ।
४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोस् , यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोस् , छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल/ एन्टिबायोटिक ) खानुपर्ने हुन्छ । कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।
५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोस् अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठीक हुन्छ । अक्सिजन उपचार हैन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ ।
६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ । तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोस् अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ ।
७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोस् । प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।
८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोस् ।
९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोस । यसपटकको प्रजाति निकै संक्रामक छ ।
१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोस् ।
११. पानीको बाफ लिंदा आराम हुन्छ । रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ ÷ कोल्ड ड्रिंक्स सेवन नगर्नुहोस् ।
१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोस् । आफ्नो मानसिक अवस्थालाई सुदृढ एवम् सबल राखुहोस् नआत्तिनुहोस्
१४. दिनमा १/२ पटक मात्र समाचार हेर्नुहोस् सामाजिक संजाल नहेर्नुहोस्, अनधिकृत समाचारले तनाव बढाउँछ ।
१५. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोस् । उपचारको लागि कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोस् ।