नारायणगढ मुग्लिङ सडकमा पहिरो झर्ने क्रम जारी, सडक अवरुद्ध
प्रकाशित मिति: बिहिबार, आषाढ १७, २०७८ | ७:०३:०१
चितवन, १७ असार ।
निरन्तर परेको पानीको कारण पहिरो खस्दा नारायणगढ मुग्लिङ सडक अवरुद्ध भएको छ ।
निरन्तर पानी परेपछि आज बिहान २:१० बजेबाट उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए । थापाका अनुसार सो सडकको चारकीलो र पाँचकिलो भन्ने स्थानमा अझै पनि पहिरो खसिरहेको छ ।
पहिरो खसेको ठाउँ चितवनको इच्छाकामना गाउँपालिका-६ मा पर्दछ । चारकिलो भन्ने स्थानमा ठूलो पहिरो झरेको भन्दै थापाले सो सडकको अन्य धेरै ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको बताए ।
निरन्तर पानी परिरहेको र पहिरो समेत झर्ने क्रम भइरहेको कारण बाटो सञ्चालन हुन केही समय लाग्ने थापाले बताए । डोजर तथा लोडर प्रयोग गरि पहिरो हटाउने प्रयाश गरिए पनि पहिरो झर्ने क्रम नरोकिँदा पहिरो हटाउन बाधा उत्पन्न भएको छ ।
प्रकाशित मिति : बिहिबार, आषाढ १७, २०७८ |
७:०३:०१
1739