खैरहनीमा ३२ घरपरिवारलाई स्थानान्तरण,सयौ विगाहा धानखेतीमा असर
ध्रुवराज खनाल,
चितवन , १७ असार ।
चितवनको खैरहनी नगरपालिका क्षेत्रका विभिन्न स्थानमा वर्षाका कारण आएको बाढीले ठुलो क्षती पुर्याएको छ । बाढीले भित्री सडकको लदरी खोला पुल भत्काउनुका साथै सयौं विगाहा जमिनकोे धानवालीमा असर गरेको छ । बाढीले भित्री सडकको खैरहनी २ स्थित लदरी खोला पुल भत्काएको छ । वि.सं. २०५८/५९ मा निर्माण गरिएको सो पुल विहीवार विहान आएको बाढीले भत्काएको हो । पुलको बीच भाग छुट्एिर खसेको छ । पैदल समेत हिड्न नमिल्ने गरि पुल भत्किएको हो । जसका कारण खैरहनी २ र ३ का स्थानीय अर्को बाटो भएर आवातजावत गर्नु पर्ने अवस्था सृजना भएको छ । त्यस्तै खैरहनी ९ सुल्तनामा निर्माण गरिएको शितभण्डार परिसरको पर्खाल अधिकांश भत्किएको छ । बागमती प्रदेश सरकार,खैरहनी नगरपालिकाको सयुक्त लगानीमा पर्खाल निर्माणको काम भईरहेको थियो । निर्माण सम्पन्न नहुदै अधिकांश पर्खाल भत्किएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले वताए ।
खैरहनी १ वहेरी स्थित सुकुम्वासी वस्तीमा कयर खोलाको बाढी पस्न थालेपछि त्यहाँका स्थानीयलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । त्यहाँका ३२ घरधुरीलाई कंकाली माध्यमिक विद्यालयमा राखिएको नगर प्रमुख चौधरीले जानकारी दिए । उनीहरुलाई खान वस्नको व्यवस्था नगरपालिकाले मिलाएको छ । बाढीले खैरहनीको मुख्य वजार नयाँ पर्सा र पुरानो पर्सा डुवानमा परेको छ । जसका कारण दर्जनौ पसलका सामानमा असर पुर्याएको छ ।
पुरानो पर्सा चोक देखी नयाँ पर्सा चोक सम्मका अधिकांश पसलमा वाढी पसेको थियो । चात्रा खोला,पम्फा खोला,लदरी खोलामा आएको बाढीले सिमलटाँडी,वस्यौली,धुसरी,शाही चोक,विद्युत सवस्टेशन क्षेत्र,ज्यामिरे,वैरहनी लगायतका स्थानका सयौ घर डुवानमा परे । बाढीले केही निजी विद्यालयहरु समेत डुवानमा परेका छन् । नगरपालिकाको विपद व्यवस्थापन समितिले नगर भित्र बाढीले पुर्याएको क्षतीको अनुगमनसहित विवरण संकलनको काम गरेको छ । आवश्यक स्थानमा उद्धार र सहयोगका लागि तयारी अवस्थामा रहेको विपद व्यवस्थापन समितिका संयोजक भुमि प्रसाद कडेंलले वताए । पानी पर्ने क्रम अझै पनि रहेकाले सुरक्षित र सचेत रहन आग्रह गर्दै सुचना प्रवाहमा सहयोग गरिदिन नगरपालिकाले आग्रह गरेको छ ।