चितवनबाट मगर संस्कृतिमा आधारित चलचित्र निर्माण, प्रदर्शनको तयारी
चितवन, ५ फागुन ।
मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र मिह्री (भाग्य) प्रदर्शनको तयारी गरिएको छ । मगर संस्कृतिमा चितवनबाट पहिलो पटक चितवनकै कलाकारलाई लिएर निर्माण गरिएको चलचित्र मिह्रीले मगर संस्कृति उजागर गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका लेखक, निर्देशक एवं कलाकार रमेश राना मगरले मगर संस्कृति संरक्षण गर्नका लागि चलचित्र महत्वपूर्ण हुने बताए । नयाँ पुस्ताले आफ्नो संस्कृति बिर्सेको भएर जोगाउनका लागि अभियान स्वरुप चलचित्र निर्माण गरेको राना मगरको भनाइ छ । चितवनमा पनि मगर समुदायका कलाकार छौँ भनेर देखाउन समेत चलचित्र फलदायी भएको राना मगरले बताए ।
चलचित्रको सबै काम सकिएको भन्दै आगामी २० दिनभित्र सिजी ल्याण्डमार्कको हलमा च्यारिटी शो गर्ने तयारी भइरहेको राना मगरले बताए । चलचित्रको अधिकांश दृश्य तनहूँको देवघट र आँबु खैरेनीको १७ सय राना गाउँमा छायाँकन गरिएको भन्दै चलचित्रका गीतहरु चितवन, स्याङ्जा र कास्कीका केही स्थानमा छायाँकन गरिएको उनको भनाइ छ । चलचित्र नेपाली भाषामा रहेकाले सबै जातजातिका मानिसले सजिलै बुझ्नेसमेत राना मगरको भनाइ छ ।
दुई वटा गीत समावेश गरिएको चलचित्रमा सालैजो भाका र चलचित्रको टिजर आज साँझ यूट्युवबाट सार्वजनिक गर्ने तयारी भएको चलचित्र निर्माता ईश्वर राना मगरले बताए । सबैमाझ मगर संस्कृति यस्तो थियो भनेर देखाउनको लागि नेपाली भाषामा चलचित्र निर्माण गरिएको उनको भनाइ छ । चलचित्रलाई मगर भाषामा समेत डबिङ गर्ने तयारी भइरहेको राना मगरले बताए ।
रफ्तार मिडियाको ब्यानरमा बनेको चलचित्र मिह्री एक घण्टा ३८ मिनेटको छ । १५ दिनमा छायाँकन सकिएको चलचित्र निर्माणका लागि करिब १४ लाख रुपैयाँ खर्च लागेको राना मगरले बताए । पत्रकार सम्मेलनका क्रममा नेपाल मगर संघ चितवनका अध्यक्ष खिमबहादुर थापा, आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय सदस्य राजु चौधरीलगायतले सबै मिलेर आफ्नो संस्कृति उजागर गर्नुपर्नेमा जोड दिए । आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पुस्ता हस्तान्तरण गर्नु आजको आवश्यकता भएको उनीहरुको भनाइ छ ।
चलचित्रको छायाँकन तथा सम्पादन घना गुरुङले गरेका छन् । चलचित्रमा रमेश राना मगर, ईश्वर राना मगर, सनम आले मगर, आशिक राना मगर, प्रिज्मा आले मगर, श्रष्टी थापा मगर, भीमबहादुर थापा मगर, बलबिक्रम थापा मगर, तुलमन गुरुङ, देवी थापा मगर, प्रेमकुमारी आले मगर, मिलन थापा मगरको विशेष भूमिका रहेको छ ।