किसानलाई मलको समस्या आउँदैन: मन्त्री अर्याल
चितवन, ६ फागुन ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले किसानलाई समयमै मल र बिउ उपलब्ध गराउनका लागि सरकार लागिपरेको बताएकी छिन् ।
विगतका समस्याबाट शिक्षा लिँदै किसानलाई मलको अभाव नहोस् भनेर सरकारले सचेतनापूर्वक सोचेर काम अगाडि बढाइरहेको अर्यालको भनाइ छ । चितवनको भरतपुर विमानस्थलमा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री अर्यालले मलको अभाव नहोस् किसानहरु बाली लगाउने बेलामा, गोडमेल गर्ने बेलामा मलको समस्याबाट प्रताडित हुन नपरोस् भनेर मन्त्रालयले योजना बनाएर अगाडि बढेको बताइन् । अहिले गहुँ लगाउने बेलामा पनि मलको अभाव नभएको भन्दै मन्त्री अर्यालले अब असारका लागि धान बालीमा लगाउन पनि मलको अभाव नहुने बताइन् ।
‘अब हामीले असारको धान खेतका लागि पनि पर्याप्त मलको चाँजो गरिसकेका छौँ’ मन्त्री अर्यालले भनिन्, ‘केही हामीसँग स्टक छ, केही हामीले प्रकृया अगाडि बढाएका आउने क्रममा छन्, त्यसैले अब मलको समस्या किसानहरुलाई छैन, तपाईँहरुले पनि त्यही भनिदिनुुस् ।’ किसानसहरुलाई मलको अभाव नहुने भन्दै यो सरकारले दीर्घकालसम्म मलको समस्या समाधानका निम्ति नेपालमै मल कारखाना खोल्नेगरी छलफल अगाडि बढाएको बताइन् । ‘अब छिट्टै मन्त्री परिषद्को बैठकमा मल कारखानाबारे छलफल चल्छ’ अर्यालले भनिन्, ‘र आउने आर्थिक वर्षको नीति, कार्यक्रम बजेटमा यो विषय सम्बोधन हुनेगरी अगाडि बढाउँदैछौँ ।’
मन्त्री अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नफुटेकाले आधिकारिकताको प्रश्न नउठ्ने बताएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको एक नम्बरको अध्यक्ष भएकाले उनी भएकै पार्टी नै आधिकारिक नेकपा भएको अर्यालको भनाइ छ । आफूहरुले पार्टी नफुटोस् भनेर चाहेको भन्दै मन्त्री अर्यालले सबैलाई मिलेर अगाडि बढ्न आग्रह गरेको बताइन् ।