सरकारले हाेटलहरूलाई सङ्केत चिह्न प्रदान गर्ने
काठमाडौं,६ फागुन ।
सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्हको रुपमा तारा (स्टार) चिन्ह निर्धारण गर्ने भएको छ ।
होटलले दिने सेवा, गुणस्तर, क्षमता, लगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिन्ह प्रदान गर्ने र उक्त संकेत चिन्हलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए ।
संकेत चिन्हमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटलले प्राप्त गरेको तारा अथवा चिन्ह रहने छ भने सबैभन्दा तल होटलको नाम रहने छ । यस्तो संकेत चिन्न निस्चित साइजको हुने र उक्त चिन्हलाई होटल, रिसोर्ट तथा बुटिक होटल लगायतका सबै किसिमका होटलले सेवाग्राहीले देख्ने गरी राख्नुपर्नेछ । सबैस्तरका रिसोर्ट, तरास्तरका होटल तथा सबै स्तरका बुटिक होटलले आफ्नो प्रवेशद्धारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा होटल÷रिसोर्टको बनौट अनुसार सजिलै देखिने गरी तोकिएको संख्याका तारा चिन्ह अर्थात प्राप्त गरेको संकेत चिन्ह सहितको साइनबोर्ड राख्नुपर्ने पनि महानिर्देशक तामाङले बताए ।
पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटक स्तरको होटलमा स्तरवर्गीकरण भएका सबै होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा टिएस (TS) लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गरिने पनि महानिर्देशक तामाङले बताए । यस्तै मोटल होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्मा एम (M) र पर्यटक इनको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा आइ (I) लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गर्ने भएको छ । बेड एण्ड ब्रेकफाष्टको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा बि एण्ड बि (B&B) लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गरिने भएको छ ।