नारायणगढको आँपटारीमा फहराइयाे राष्ट्रिय झण्डा
चितवन, ७ फागुन ।
चितवनको भरतपुर महानगरपालिकाको आँपटारी चोकमा नेपालकाे राष्ट्रिय झण्डा झण्डोत्तलन गरिएको छ । वडा नम्बर २ मा पर्ने सो चोकमा ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस एवं पाँचौं निर्वाचन दिवसको अवसर पारेर आज बिहान झण्डोत्तलन गरिएको हो ।
राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला समन्वय समिति चितवनको आयोजनामा झण्डोत्तलन गरिएको हो । झण्डोत्तलनपछि चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले प्रजातन्त्र दिवसको बारेमा व्याख्या राखेका थिए । २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र आएको दिनलाई स्मरण गर्दै हरेक वर्ष धुमधामका साथ प्रजातन्त्र दिवस मनाउने गरिएको उनको भनाइ छ ।
एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा देशभर विविध कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउइने भट्टराईले बताए । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएकोमा चितवनमा पनि सोही अनुसारका कार्यक्रम गरिएको उनको भनाइ छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको भट्टराईले बताए ।
झण्डोत्तलन कार्यक्रममा राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पार्वती रावल, भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, निर्वाचित जनप्रतिनिधि, जिल्लाका सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मी र नागरिक समाजको उपस्थिति रहेको थियो ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्र्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । जहानियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सबै जिल्लामा यो दिवस मनाइँदै आएको छ । चितवनमा बर्सेनि फरक फरक स्थान र फरक तरिकाले प्रजातन्त्र दिवस मनाइदै आएको छ ।