भरतपुर अस्पतालका बिरामीलाई फलफूल वितरण
चितवन, ७ फागुन ।
चितवन उद्योग संघले भरतपुर अस्पालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर उद्योग संघले अस्पतालमा उपचाररत बिरामीहरुलाई आज बिहान फलफूल वितरण गरेको हो ।
चितवन उद्योग संघले बर्सेनि प्रजातन्त्र दिवसको अवसर पारेर अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गर्दै आएको संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले बताए । अस्पतालमा उपचाररत दुई सय जना बिरामीलाई फलफूल वितरण गरिएको सिलवालको भनाइ छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा सनन्वय समिति सभापति पार्वती रावलले अस्पतालको आकस्मिक कक्षमा उपचाररत बिरामीलाई फलफूल प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरेकी थिइन् ।
त्यस्तै, भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, कार्यकारी अधिकृत गणेशप्रसाद सिलवाल तथा उद्योग संघका कार्यसमिति पदाधिकारीहरुले बिरामीलाई फलफूल प्रदान गरेका थिए । उद्योग संघले आजै मानव सेवा आश्रममा आश्रित व्यक्तिहरुलाई भोजनसमेत गराएको सिलवालले जानकारी दिए ।