नवलपुरमा प्याराग्लाइडिङ्गको सफल परीक्षण
नवलपुर, ७ फागुन ।
पर्यटन व्यवसाय प्रवर्द्धन र पर्यटकीय क्षेत्रको विकासका लागि नवलपुरकाे कावासोतीमा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । कावासोती नगरपालिकाको सहयोगमा बिहीबार प्याराग्याइडिङ्गको सफल परीक्षण गरिएको हो ।
नवलपुर जिल्लाको कावासोती नगरपालिका–१ स्थित बालुवा डाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण उडान भएको हो ।
पहिलो दिन तीन वटा सफल परिक्षण उडान भएको छ । पाइलट हरि थापाले पहिलो उडान गरेका थिए । त्यसपछि थप पाइलट सहित दुई दुई जनाको थप दुई वटा उडान गरिएको थियो । बालुवा डाँडाबाट गरिएको उडानको कावासोती–१ मा रहेको पोखरीतालमा सफल ल्याण्डिङ गरिएको हो ।
बालुवा डाँडा क्षेत्रमा हावाको वाहव, उडान र ल्याण्डिङ क्षेत्र सबै दृष्टिले प्याराग्लाइडिङको लागि उपयुक्त रहेको पाइलट हरि पहारी बताए । प्याराग्लाइडिङको लागि बालुवा डाँडा उत्कृष्ट स्थान बन्न सक्ने सम्भावना रहेको पहारीले बताए । बालुवा डाँडाको ९२७ मिटर उचाईबाट उडान भरिएको थियो ।
कावासोतीका युवाहरुको सक्रियता र नगरपालिकाको सहयोगमा गरिएको परीक्षण उडान सफल भएपछि यस क्षेत्रमा नियमित प्याराग्लाइडिङको सम्भावना बढेको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले बताए ।
कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले ल्याण्डिङ स्थल पोखरी ताल पुगेर पाइलट दललाई स्वागत गरेका थिए । नगर प्रमुख पुनले कावासोती नगरपालिकामा पर्यटकीय दृष्टिले हरेक सम्भावना रहेको भन्दै योजना अगाडि बढाउने युवाहरुलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
कावासोतीका युवाहरुले स्थानीय उमेश रानाको अध्यक्षतामा बालुवा डाँडा प्याराग्लाइडिङ युवा समुह गठन गरेर यहाँको सम्भावना बारे अध्ययन र प्रक्रिया अगाडि बढाए पछि नागरिक उड्यान प्राधिकरणबाट परिक्षण उडानको अनुमति प्राप्त र कावासोती नगरपालिकासंगको सहकार्यमा शुरु गरिएको समुहका सचिव बिमल रानाले बताए ।